एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा साबिकको विजेता बार्सिलोनाले साँघुरो जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले नवप्रवेशी क्लब रियल भायाडोलिडलाई १ - ० गोल अन्तरले पराजित गरेको हो ।
भायाडोलिडको घरेलु मैदानमा बार्सिलोनाको लागि ओसुमाने डेम्बेलेले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा गोल गर्दै बार्सिलोनाले जित निकालेको हो ।
खेलको ५७ औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । डेम्बेलेले सेर्गी रोबर्टोको पासमा गोल गरेका थिए । घरेलु टोलीलाई दबाबमा राखेपनि बार्सिलोनाले थप गोल गर्न सकेन र डेम्बेलेको गोलमा बार्सिलोनाले महत्वपूर्ण ३ अंक जोड्न सफल भयो ।
बार्सिलोनाविरुद्ध खेलको अन्तिमतिर भायाडोलिडले एक गोल फर्काएपनि गोलको मान्यता पाएन । उसका केकोको हेड गोल भिडियो असिस्टेन्ट रेफ्रीले अफसाइड देखाएको थियो । त्यसअघि बार्सिलोनाका लुइस स्वारेजले प्नो अफसाइड गोल गरेका थिए ।
यस्तै बार्सिलोनाका खेलाडीले मैदान पिच खेल्न योग्य नरहेको भन्दै असन्तुष्टि जनाएको थियो ।
यो जितसंगै शीर्ष स्थानको बार्सिलोनाले २ खेलबाट ६ अंक जोडेको छ । बार्सिलोनाको यो लगातार दोस्रो जित समेत हो । भायाडोलिडको यो लगातार दोस्रो हार हो ।
ला लिगा अन्तर्गत नै साबिकको उपविजेता एट्लेटिको मड्रिडले रियल भालाकानोलाई १ - ० ले नै हराएको छ । एट्लेटिकोलाई जित दिलाउन एन्टोनी ग्रीजम्यानले निर्णायक गोल गरे ।
पहिलो खेलमा बराबरी खेलेको एट्लेटिकोको यो पहिलो जित हो ।