काठमाडौं । एसिया कप छनोटको लागि विशेष प्रशिक्षण गर्न श्रीलंका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (आइतबार) तेस्रो अभ्यास खेल खेल्दैछ ।
मलेसियामा अगष्ट अन्तिम साताबाट आयोजना हुने एसिया कपको तयारीमा रहेको नेपालले तेस्रो अभ्यास खेल खेल्न लागेको हो । अघिल्ला दुई अभ्यास खेलमा जित निकालेको नेपालले अन्तिम अभ्यास खेलमा कोल्ट्स क्रिकेट क्लबसंग उसैको मैदानमा प्रतिस्पर्धा गर्नेछ ।
एकदिवसीय फर्म्याटमा हुने नेपाल र कोल्ट्सबीचको खेल नेपाली समय अनुसार १०:१५ मा सुरु हुनेछ । अभ्यास खेल अन्तर्गत नेपालले यसअघि श्रीलंका आर्मी स्पोर्ट्स क्लब र ब्लुमफिल्ड क्लबलाई हराएको थियो ।
नेपालले अन्तिम अभ्यास खेल खेल्ने कोल्ट्स क्लब सन् १८७१ मा स्थापना भएको पुरानो क्लब हो । यस क्लब श्रीलंकाको उत्कृष्ट क्लबमध्ये एक क्लब हो । यस क्लबले श्रीलंकाको फस्ट क्लास लिग प्रिमियर ट्रफी ६ पटक जितिसकेको छ ।
हाल क्लबको कप्तानी श्रीलंकाका टेष्ट क्रिकेटर दिलरुवान परेराले गरिरहेका छन् । श्रीलंकाका अलराउन्डर परेरासंगै अकिला धनन्जय, कुशल परेरा जस्ता चर्चित श्रीलंकन क्रिकेटर यस क्लबबाट खेल्ने गर्छन् । यि तीनै खेलाडी अहिलेको श्रीलंका टिमका मुख्य खेलाडी हुन् ।
यस्तै यस क्लबमा श्रीलंकाबाट यू-१९ क्रिकेट खेलिसकेका खेलाडीको बाहुल्यता रहेको छ । श्रीलंकाका लिजेण्ड क्रिकेटर चामिन्दा भासले यसै क्लबबाट घरेलु लिग खेल्ने गर्थे । तर, नेपालविरुद्ध मैदान उतार्ने टोलीको तय भएको छैन ।
कोल्ट्ससंगको अन्तिम अभ्यास खेलपछि नेपाली टोली सोमबार श्रीलंकाबाटै मलेसिया प्रस्थान गर्ने छन् । एसिया कपको छनोटमा नेपालसहित आयोजक मलेसिया, युएई, हङकङ,सिंगापुर र ओमानले खेल्ने छन् ।
छनोटको पहिलो खेलमा नेपालले ओमानसंग खेल्नेछ । नेपाल र ओमानबीचको खेल अगष्ट २९ मा बायुमास ओभलमा हुनेछ । यस्तै नेपालले दोस्रो खेलमा युएईको सामना गर्ने छ । नेपाल र युएईबीचको खेल अगष्ट ३० मा किनरारा ओभलमा हुनेछ । नेपालले तेस्रो खेलमा आयोजक मलेसियासंग सेप्टेम्बर १ मा खेल्ने छ । त्यस्तै सेप्टेम्बर २ मा सिंगापुरसंग खेल्ने नेपालले सेप्टम्बर ४ मा हङकङसंग खेल्ने छ ।
राउण्ड रोबिनको आधारमा हुने छनोटको शीर्ष दुई टोलीले फाइनलमा खेल्ने छन् । छनोटको बिजेताले युएईमा हुने एसिया कपमा सहभागिता जनाउने छन् ।
एकदिवसीय फर्म्याटको एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान जस्ता टेष्ट राष्ट्रको सहभागिता रहने छ । र, एसोसियट राष्ट्रबाट एक टोलीले एसिया कपमा टिकट काट्ने छन् ।
छनोटको बिजेता सेम्टेम्बर १३ देखि २८ तारिखसम्म हुने एसिया कपको समूह ए मा पर्नेछ । उक्त समूहमा भारत र पाकिस्तान रहेको छ ।