एजेन्सी । इटालियन सिरी ए फुटबलमा साबिकको विजेता युभेन्ट्सले लगातार दोस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले लाजियोलाई २ - ० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सलाई जित दिलाउन मिरालेम पियानिच र मारियो मान्डुज्कीले समान एक एक गोल गरे । युभेन्ट्सले दुवै हाफमा एक एक गोल गरेका थिए ।
पहिलो हाफको ३० औं मिनेटमा पियानिचले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफको ६६ औं मिनेटमा मान्डुज्कीले गोल गर्दै युभेन्ट्सलाई २ - ० को जित दिलाए ।
नयाँ सिजनको सुरुवाती दुई खेलमा युभेन्ट्सले जित निकाले पनि स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले गोल गर्न सकेका छैनन् । यसै सिजन क्लब आएका रोनाल्डोले दुई खेल खेलिसक्दा पनि गोल गर्न सकेका छैनन् ।
पोर्चुगलका रोनाल्डो स्पेनिस क्लब रियल मड्रिडबाट युभेन्ट्स आएका हुन । रोनाल्डोले लाजियोविरुद्धको खेलसंगै घरेलु मैदानमा डेब्यु गरे ।
लाजियोविरुद्धको जितसंगै युभेन्ट्सले २ खेलबाट ६ अंक जोडेको छ । र, युभेन्ट्स लिगको शीर्ष स्थानमा छ । लाजियोको यो लगातार दोस्रो हार हो ।