काठमाडौं । सन् २०१९ को आईसिसी विश्वकप क्रिकेटको ट्रफी नेपालमा ल्याइने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले शनिबार प्रेस विज्ञप्तिबाट विश्व भ्रमणको दौरान विश्वकप ट्रफी नेपाल ल्याइने जानकारी गराएको हो ।
विश्व भ्रमणको दौरान आगामी अक्टोबरमा विश्वकप ट्रफी नेपाल आइपुग्ने छ । आईसिसीले जनाए अनुसार विश्वकप ट्रफी २७ अक्टोबरमा दरबार स्वायर क्षेत्रमा राखिने छ । उक्त दिन समर्थकहरुले ट्रफी हेर्न र ट्रफीसँग तस्विर खिचाउन पाउने छन् ।
क्रिकेटको विश्वकप ट्रफी नेपालमा पहिलोपटक ल्याउन लागिएको हो । फुटबलको ट्रफी भने नेपालमा ल्याईसकिएको छ ।
आगामी बर्ष इंग्ल्यान्ड र वेल्समा हुने विश्वकपको ट्रफी निशान कम्पनिको सहायताले विश्वभर प्रदर्शन गर्न लागिएको हो ।
विश्वकप ट्रफीको १०० दिने विश्व भ्रमण सोमबारबाट सुरु हुने बताईएको छ । विश्वकप ट्रफी नेपालसहित २१ देशका ६० शहरमा प्रदर्शन गरिनेछ ।
दुबईबाट सुरु हुने विश्वकप ट्रफी ओमान, अमेरिका, वेष्ट इण्डिज, श्रीलंका, पाकिस्तान, बंगलादेश, नेपाल, भारत,न्युजिल्यान्ड,अष्ट्रेलिया, दक्षिण अफ्रीका,केन्या,रुवान्डा, नाइजेरिया, फ्रान्स,बेल्जियम, नेदरल्याण्ड र जर्मनी हुँदै इंग्ल्यान्ड आइपुग्ने छ ।