पोखरा । पोखरामा सम्पन्न आहा ! रारा गोल्डकप फुटबलको १६ औं संस्करणमा आयोजकलाई ९४ लाख आम्दानी भएको छ ।
पोखरामा शनिबार आयोजित एक कार्यक्रममा गोल्डकपको आय व्यय सार्वजनिक गर्दै अर्थ संकलन उपसमिति संयोजक टिकाबहादुर कार्कीले प्रतियोगितामा ९४ लाख आम्दानी भएको जानकारी गराएका हुन् ।
गत माघ ९ गतेदेखी २० गतेसम्म पोखरा रंगशालामा संचालन भएको प्रतियोगिताबाट ९४ लाख ४१ हजार १ सय ४८ रुपैयाँ आम्दानी भएको संयोजक कार्कीले जानकारी गराए । यस्तै संयोजक कार्कीले प्रतियोगिताबाट २३ लाख ७६ हजार ९७ रुपैयाँ बचत भएको बताए ।
सहारा क्लबको आयोजनामा ११ दिन संचालन भएको प्रतियोगिता सम्पन्न गर्न ७० लाख ६५ हजार ५० रुपैयाँ खर्च भएको कार्कीले बताए । प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।
संयोजक कार्कीका अनुसार मुख्य प्रायोजक हिमश्री फुड्स प्रालि, सह प्रायोजक तथा प्रायोजकबाट ३५ लाख १७ हजार ५ सय रुपैयाँ संकलन भएको थियो । प्रवेश शुल्कबाट ३३ लाख ५० हजार ६ सय ८५ रुपैयाँ संकलन भएको छ । व्यानरबाट २५ लाख ५४ हजार ६ सय ६५ रुपैयाँ संकलन भएको थियो ।
प्रतियोगितामा खेलाडीको दैनिक भ्रमण खर्चमा २८ लाख २२ हजार ५ सय ६० रुपैयाँ खर्च भएको क्लबका अध्यक्ष केशबबहादुर थापाले बताए ।
२०५८ सालमा क्याराभान गोल्डकपबाट प्रतियोगिता आयोजना गर्न थालेको सहारा क्लब पोखराले हरेक वर्ष आहा ! रारा गोल्डकप प्रतियोगिता गर्दै आएको छ ।
प्रतियोगिताबाट बचत रकम सहारा क्लबद्वारा सञ्चालित सहारा एकेडेमीमा खर्च गरिने क्लबले जनाएको छ । आवासीय एकेडेमीमा १३ जिल्लाका २८ जना बालक रहेका छन् ।