एजेन्सी । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले प्यालेस्टाइन फुटबल संघका अध्यक्ष जिब्रिल रजौबलाई एक बर्षको प्रतिबन्ध लगाएको छ ।
रुस विश्वकप अघि तय भएको इजरायल र अर्जेन्टिनाबीचको मैत्रीपूर्ण खेल रोक्न घृणित र हिंसात्मक कार्य गरेको बन्दै फिफाले अध्यक्ष रजौबलाई १२ महिनाको प्रतिबन्ध लगाएको हो । यस्तै फिफाले अध्यक्ष रजौबलाई २० हजार स्विस फ्रान्क जरिवाना समेत गरेको छ ।
प्यालेस्टाइन समर्थकहरुबाट हिंसात्मक कार्य र धम्की आएपछि जेरुसेलममा तय भएको मैत्रीपूर्ण खेल रद्द भएको थियो । उक्त खेल टेडी कोलेक रंगशालामा खेलाउने निर्णय भएको थियो । तर, प्यालेस्टाइनले भने इजरायलले मैत्रीपूर्ण खेल जेरुसेलममै खेलाएर राजनीतिक सन्देश दिन खोजिरहेको भन्दै विरोध जनाएका थिए ।
इजरायल र अर्जेन्टिनाको मैत्रीपूर्ण खेल जेरुसेलममा तोकिएपछि प्यालेस्टाइन फुटबलका अध्यक्ष रजौबले पनि मैत्रीपूर्ण खेल रोक्न फिफालाई आग्रह गरेका थिए । यस्तै अध्यक्ष रजौबले मैत्रीपूर्ण खेलको बिरोध गर्न अरब तथा मुस्लिम देशका प्रशसंकलाई मेस्सीको जर्सी र तस्बिहरु जलाउन अपील पनि गरेका थिए ।
इजरायलको जेरुसेलम राज्य निकै संवेदनशील क्षेत्र मानिन्छ । यो क्षेत्रलाई प्यालेस्टाइन आफ्नो भूभाग रहेको मान्छन् । अर्जेन्टिनासंगको मैत्रीपूर्ण खेल हुने स्थान ७० वर्ष पहिले भएको अरब र इजरायल युद्दको बेला तहसनहस भएको थियो । यस्तै यो स्थानमा रहेको लाखौ प्यालेस्टाइन नागरिकलाई इजरायली सेनाले लखेटेका थिए ।