काठमाडौं । साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलोपटक 'जीपीएस ट्रयाकर' प्रयोग गरेर अभ्यास गरेका छन् ।
बंगलादेशमा सेप्टेम्बरमा हुने साफको तयारीमा रहेका नेपाली टोलीले शुक्रबार 'जीपीएस ट्रयाकर' प्रयोग गरेर प्रशिक्षण गरेका हुन् । जुन, नेपाली फुटबलमा पहिलोपटक प्रयोग गरिएको हो । आधुनिक फुटबलमा धेरै अगाडीबाट यसको प्रयोग आएपनि नेपालले यसअघि प्रयोग गरेको थिएन् ।
पहिलोपटक नेपालमा भित्रिएको यो प्रविधिले साफको लागि मात्र हैन नेपाली फुटबलको विकासमा सघाउ पुग्ने नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले खेलपाटीलाई बताए ।
नेपाली फुटबल इतिहासमा पहिलोपटक यो प्रविधि प्रयोग गरिएको हो,' प्रशिक्षक महर्जनले भने, 'यसले खेलाडीको सम्पूर्ण रेकर्ड राख्ने गर्छ । अभ्यासमा खेलाडीको रियाक्सन र स्पिडबारे जानकारी दिन्छ । यस प्रविधिले नेपाली फुटबलको विकासमा ठुलो योगदान दिन्छ ।'
थाइल्याण्डमा १० दिने प्रशिक्षण र एसियन गेम्सपछि नेपाली टोलीले बिहिबारबाट अभ्यास सुरु गरेका हुन् । साफको लागि २९ खेलाडीले प्रशिक्षण गरिरहेका छन् ।
साफ च्याम्पियनसिप बंगलादेशको ढाकामा सेप्टेम्बर ४ बाट सुरु हुनेछ । समूह ‘ए’ मा रहेको नेपालले सेप्टेम्बर ४ मा पाकिस्तानविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै दोस्रो खेलमा नेपालले भुटानसंग सेप्टेम्बर ६ मा खेल्नेछ । नेपालले अन्तिम खेलमा आयोजक बंगलादेशसंग सेप्टेम्बर ८ खेल्नेछ ।
सेप्टेम्बर १५ सम्म हुने च्याम्पियनसिपको समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । समूह 'बी' मा साबिकको बिजेता भारत, श्रीलंका र माल्दिभ्स रहेका छन् ।