काठमाडौं । अष्ट्रेलियामा सन् २०२० मा हुने आईसिसी टी-ट्वान्टी विश्वकपमा सहभागिता जनाउन नेपालले दुई चरणको छनोट खेल खेल्नुपर्ने भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषदले निकालेको छनोट तालिका अनुसार नेपालले एसिया क्षेत्रमै दुई चरणको छनोट पार गर्नुपर्ने भएको हो ।
आईसिसीले निकालेको छनोट तालिका अनुसार एसिया छनोटको पहिलो चरणको छनोटमा नेपाल समूह 'बी' मा परेको छ । नेपाल रहेको समूहको छनोट खेल आगामी अक्टोबरमा मलेसियामा हुनेछ ।
नेपालले आयोजक मलेसिया, भुटान, सिंगापुर, चीन, म्यानमार, थाइल्याण्डसंग प्रतिस्पर्धा गर्नेछन् । यो समूहको छनोट अक्टोबर २ देखि १२ सम्म हुनेछ । खेल तालिका भने सार्वजनिक भएको छैन ।
यो समूहको छनोटबाट शीर्ष तीन टोलीले एसिया छनोटमा स्थान बनाउने छन् । एसिया छनोटबाट शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउने छन् । एसिया छनोटमा ६ टोलीले खेल्नेछन् ।
अष्ट्रेलियामा हुने टी-ट्वान्टी विश्वकप अक्टोबर १८ देखी १५ नोभेम्बरसम्म हुनेछ । जसमा १६ टोलीले खेल्नेछन् ।