एजेन्सी । श्रीलंकामा आगामी जुन महिनाबाट क्रिकेट सुचारु गर्ने तयारी भएको छ ।
श्रीलंका क्रिकेट बोर्डले जुन महिनाबाट क्रिकेट सुचारु गर्ने तयारी गरेको हो ।
श्रीलंकाको प्रशिक्षक मिक्की आर्थरले जुन महिनाबाट श्रीलंकाको क्रिकेट टिमले अभ्यास सुरु गर्न लागेको बताएका छन् ।
प्रशिक्षक आर्थरका अनुसार श्रीलंका सरकार र स्वास्थ्य मन्त्रालयले समेत अभ्यास सुचारु गर्न अनुमति दिएको छ ।
'गत बुधबार हामीले छोटो बैठक बसेका थियौँ किनकि जुनबाट हाम्रो अभ्यास सुरु गर्ने तयारी चल्दै छ,' आर्थरले क्रिकइन्फोसँग भने ।
यस्तै उनले सुरुमा २ फास्ट बलर अभ्यास सुरु गर्ने र सबै सकारात्मक र सही तरिकाले चले सबै टिमलाई अभ्यासमा सहभागी गराउने बताए ।
'फास्ट बलरलाई लयमा ल्याउन समय लाग्ने भएको कारण सुरुमा फास्ट बलरलाई अभ्यासमा बोलाउने छौं,' उनले थपे, 'सबै सकरात्मक रहे जुन २० सम्म सबै खेलाडीलाई अभ्यासमा सहभागी गराउने छौं ।'
विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको कारण श्रीलंकाले इंग्ल्याण्ड र दक्षिण अफ्रिकाविरुद्धको घरेलु सिरिज रद्द गरेको थियो ।
श्रीलंकामा हालसम्म १ हजार कोरोना संक्रमित भेटिएका छन् । पछिल्लो समय संक्रमणमा कमी आएको कारण श्रीलंकाले लकडाउनलाई समेत केही खुकुलो पार्ने संकेत गरेको छ ।