काठमाडौं । श्रीलंकाको फस्ट क्लास क्लब ब्लुमफिल्ड क्लबविरुद्धको अभ्यास खेलमा नेपालका दुई ब्याट्सम्यानले अर्धशतक पुरा गरेका छन् ।
टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालका लागि सागर पुन र दिपेन्द्र सिंह ऐरीले अर्धशतक बनाएका हुन् । नेपाली टोलीमा पुनरागमन गरेका सागरले ५५ बल खेल्दै ५० रन पुरा गरेका हुन् । यस्तै दिपेन्द्रले ५३ बलमा ५० रन पुरा गरे ।
सागर र दिपेन्द्रको ब्याटिङ चलेपछि नेपालले ४२ ओभरको खेल सकिदा ४ विकेट गुमाएर २३८ रन जोडेको छ । सागर ७३ र दिपेन्द्र ८२ रन बनाएर खेलिरहेका छन् ।
एसिया कप छनोटको लागि विशेष प्रशिक्षण गर्न श्रीलंका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले ब्लुमफिल्ड क्लबविरुद्ध दोस्रो अभ्यास खेल खेलिरहेको हो ।
नेपालले आज उपकप्तान ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, बिनोद भण्डारीलाई खेलाएको छैन । अघिल्लो खेलमा कप्तान पारस खेलेका थिएनन् ।
मलेसियामा अगष्ट अन्तिम साताबाट आयोजना हुने एसिया कपको तयारीमा रहेको नेपालले श्रीलंकामा अभ्यास खेल खेलिरहेको हो । नेपालले पहिलो अभ्यास खेलमा श्रीलंका आर्मी स्पोर्ट्स क्लबलाई ६७ रनले हराएको थियो ।
ब्लुमफिल्डपछि नेपालले अन्तिम अभ्यास खेलमा कोल्ट्ससंग उसैको मैदानमा आइतबार खेल्ने छ । तीन अभ्यास र प्रशिक्षणपछि नेपाली टोली अगष्ट २७ मा श्रीलंकाबाटै मलेसिया प्रस्थान गर्ने छन् ।
एसिया कपको छनोटमा नेपालसहित आयोजक मलेसिया, युएई, हङकङ,सिंगापुर र ओमानले खेल्ने छन् ।