काठमाडौं । काठमाडौंको केन्द्रमा रहेको टुँडिखेलमा चार वटा फुटबल मैदान बन्ने भएको छ । राजधानीका ‘ए’ र ‘बी’ डिभिजनका क्लब र आम मानिसलाई अभ्यास गर्न मिल्ने गरि चार फुटबल मैदान बनाउने काम अघि बढेको छ ।
महानगरको स्विकृती र नेपाली सेनाको सहयोगमा अखिल नेपाल फुटबल संघ एन्फाले पहिलो चरण अन्तर्गत टुँडिखेलको घाँस र झारहरु काट्ने काम सुरु गरेको छ । एन्फाले काठमाडौं महानगरपालिकासंग स्विकृती लिएर टुँडिखेलमा फुटबल मैदान बनाउने कार्यलाई अघि बढाएको हो ।
यसअघि, काठमाडौंका शीर्ष डिभिजनका क्लबले महानगर प्रमखसंग भेट गरि फुटबल अभ्यास गर्ने स्थानको अभाव रहेको भन्दै टुँडिखेललाई मैदान बनाउन सहयोग गरिदिन आग्रह गरेका थिए ।
सोही अनुसार टुँडिखेलको संरक्षण गर्दै आएको नेपाली सेना र महानगरको सहकार्यमा एन्फाले फुटबल मैदान बनाउने प्रक्रिया अघि बढाएको हो ।
एन्फा महासचिव इन्द्रमान तुलाधरका अनुसार दुई पुरा र दुई सेभेन ए साईड फुटबल खेल्न मिल्ने गरि ४ वटा मैदान एन्फाले तयार गर्नेछ ।
‘घाँस काटेर सफा गर्ने काम सात दिन भित्र सकिन्छ । त्यसपछि एन्फाले गोल पोस्ट हाल्ने र स्थायी मार्किङ गर्ने काम गर्छ ।’ तुलाधरले खेलपाटीसंग भने ।
फुटबलको अभ्यास गर्ने मैदान नहुदाँ उपत्यकामा फुटबल संस्कृती विस्तारै हराउदै गएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गर्दै आएका थिए ।
तुलाधरले भने, ‘टुँडिखेलमा मैदान बनेसंगै अभ्यास गर्ने ठाउँ र फुटबल खेल्ने संस्कृतीको विकाश पुग्ने हाम्रो अपेक्षा छ ।’
लिग तयारीमा रहेका मैदान नभएका काठमाडौंका क्लबहरुले अब टुँडिखेलमा अभ्यास गर्नेछन् । एन्फाले टुँडिखेलको मैदानलाई स्तरीय फुटबल मैदानको रुपमा विकाश गर्ने लक्ष्य लिएको छ ।