काठमाडौं । एसिया कप छनोटको लागि विशेष प्रशिक्षण गर्न श्रीलंका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अहिले श्रीलंकाको फस्ट क्लास क्लब ब्लुमफिल्ड क्लबविरुद्ध दोस्रो अभ्यास खेल खेलिरहेको छ ।
ब्लुमफिल्डको घरेलु मैदानमा हुने खेलमा नेपालले सुरुवातमा ब्याटिङ गर्ने भएको छ । पारस खड्काको कप्तानीमा मैदान उत्रने नेपालले टस जितेर पहिलो ब्याटिङ रोजेको हो । खेल ५० ओभरको हुनेछ ।
नेपालले आज उपकप्तान ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, बिनोद भण्डारीलाई खेलाएको छैन । अघिल्लो खेलमा कप्तान पारस खेलेका थिएनन् । यस्तै सागर पुनलाई खेलाईएको छ ।
मलेसियामा अगष्ट अन्तिम साताबाट आयोजना हुने एसिया कपको तयारीमा रहेको नेपालले श्रीलंकामा अभ्यास खेल खेलिरहेको हो । नेपालले पहिलो अभ्यास खेलमा श्रीलंका आर्मी स्पोर्ट्स क्लबलाई ६७ रनले हराएको थियो ।
नेपालले खेल्न लागेको ब्लुमफिल्ड क्लब कोलम्बोमा रहेको श्रीलंकाको पुरानो क्रिकेट क्लब हो । सन् १८९२ मा स्थापना भएको यस क्लबले श्रीलंकाको फस्ट क्लास लिग प्रिमियर ट्रफी ८ पटक जितिसकेको छ । श्रीलंकाका लिजेण्ड सनथ जयसूर्या जस्ता खेलाडीले खेलिसकेको यो क्लबले सन् २०१० को सिजन प्रिमियर ट्रफी जितेको थियो ।
यस क्लब अहिले निपुन करुणानायकेको कप्तानीमा रहेको छ । यस क्लबमा हाल उमेर समूहमा उच्च प्रदर्शन गरेका खेलाडीको बाहुल्यता रहेको छ । युवा खेलाडीको बाहुल्यता रहे पनि यस क्लबका अधिकांस खेलाडीले लिस्ट ए क्रिकेट खेलिसकेका छन् ।
ब्लुमफिल्डपछि नेपालले अन्तिम अभ्यास खेलमा कोल्ट्ससंग उसैको मैदानमा आइतबार खेल्ने छ । तीन अभ्यास र प्रशिक्षणपछि नेपाली टोली अगष्ट २७ मा श्रीलंकाबाटै मलेसिया प्रस्थान गर्ने छन् ।
एसिया कपको छनोटमा नेपालसहित आयोजक मलेसिया, युएई, हङकङ,सिंगापुर र ओमानले खेल्ने छन् ।
नेपाली टोली :
पारस खड्का
सुबास खकुरेल
करण केसी
बसन्त रेग्मी
ललित राजवंशी
ललित भण्डारी
सागर पुन
अनिल कुमार साह
दिपेन्द्र सिंह ऐरी
रोहित कुमार पौडेल
आरिफ शेख