काठमाडौं । रौतहटको चन्द्रनिगाहपुरमा बन्ने नेपालकै पहिलो महिला फुटबल एकेडमीको भवनको ढाँचा तयार भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले सामाजिक संजालबाट एकेडमीको भवनको ढाँचा सार्वजनिक गरेका छन् । अध्यक्ष शेर्पाले ट्वीटरबाट भवनको ई-बिल्डिङ सार्वजनिक गरेका हुन् ।
विश्व फुटबलको सर्वोच्च संस्था फिफाले स्वीकृति दिएपछि एन्फाले रौतहटमा सुविधा सम्पन्न महिला फुटबल एकेडमी बनाउन लागेको हो ।
कुल ४ करोड ३५ लाखको लागतमा बन्न लागेको एकेडमीमा सुविधा सम्पन्न होस्टेलसहित फुटबल मैदान रहने छ ।
एकेडमीको निर्माण कार्य आजैबाट सुरु भएको एन्फा प्रवक्ता किरण राईले खेलपाटीलाई जानकारी गराए । प्रवक्ता राईका अनुसार ६ देखि ८ महिनाभित्र एकेडमी बन्ने छ ।
एन्फाले आर्थिक नियमावली अनुसार ३५ दिने खुल्ला टेन्डर आह्वान गरेर एकेडमी निर्माण गर्न लागेको हो ।
उक्त एकेडमीमा करिब ४० महिला खेलाडी अटाउन सक्ने छन् । एकेडमीको लागि रौतहट चन्द्रनिगाहपुर उपमहानगरपालिकाले ६ बिघा जग्गा उपलब्ध गराईसकेको एन्फाले जनाएको छ ।