एजेन्सी । पाहुना टोली अफगानिस्तानले आयरल्याण्डविरुद्धको तीन खेलको टी-ट्वान्टी क्रिकेट सिरिज एक खेल अगावै जितेको छ । बुधबार भएको दोस्रो टी-ट्वान्टीमा ८१ रनको जित निकाल्दै अफगानिस्तानले सिरिज २ – ० ले जितेको हो ।
ब्रेडी क्रिकेट मैदानमा अफगानिस्तानले दिएको १६१ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङ गरेको आयरल्याण्ड १५ ओभरमा अलआउट हुँदै ७९ रनमा समेटियो । आइरिस टोलीका लागि विलियम पोर्टरफिल्डले सर्वाधिक ३३ रन जोडेका थिए । त्यस्तै कप्तान ग्यारी विल्सनले २२ रन जोड्दा अन्य ब्याट्सम्यानहरुको प्रदर्शन राम्रो रहेन ।
आयरल्याण्डलाई सस्तैमा समेट्न राशिद खानले ३ ओभर बलिङ गर्दै १७ रन खर्चेर ४ विकेट लिए । यस्तै मुजिब उर रहमानले १७ रन खर्चिएर ३ विकेट लिए । अफगानिस्तानको स्पिन जोडीले ७ ओभरमा ३४ खर्चेर आयरल्याण्डको महत्वपूर्ण ७ विकेट लिएको थियो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारीत २० ओभरमा ८ विकेट गुमाएर १६० रन बनाएको थियो । अफगानिस्तानको जितमा जजाईले सवार्धिक ८२ रन जोडे ।
यस्तै कप्तान अस्घर स्टानिक्जाईले ३७ तथा नाजिबउल्लाह जाड्रनले अविजित २० रनको योगदान दिएका थिए । आयरल्याण्डका पिटर चेजले ३ विकेट लिए भने बोएड यार्किनले २ विकेट झारे ।