एजेन्सी । सन् २०१६ को कोपा अमेरिका फुटबलको फाइनलमा चिलीविरुद्धको पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए ।
तर, चौतर्फी दबाबपछि मेस्सीले आफ्नो आफ्नो निर्णय उल्ट्याउँदै अर्जेन्टिनाको टिममा फर्किएका थिए । यतिबेला पुन: मेस्सीको सन्यासबारे चर्चा चल्न थालेको छ ।
आगामी महिना ग्वाटेमाला र कोलम्बिया विरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि अर्जेन्टिनाको टोलीमा नपरेपछि मेस्सीको सन्यासले चर्चा पाएको हो ।
गत महिना सम्पन्न रुस विश्वकपमा खराब प्रदर्शनपछि मेस्सी मैत्रीपूर्ण खेलका लागि उपस्थित नहुने बताईएको छ । तर, मेस्सीले अन्य खेल खेल्ने वा नखेल्ने केहि खुलाईएको छैन ।
अर्जेन्टिनाका अन्तरिम प्रशिक्षक लियोनल स्कलोनीले पनि मेस्सीले राष्ट्रिय टोलीका लागि अब खेल्ने वा नखेल्ने निश्चित नरहेको बताएका छन् ।
‘मैले मेस्सीसंग कुरा गरेको छु र उक्त कुराकानी पछि नै उनलाई टोलीमा नराखिएको हो । ईमान्दार भएर भन्नु पर्दा हामीले भविष्यको कुरा गरेनौं,’ प्रशिक्षक स्कलोनीले भनेका छन् ।
प्रशिक्षक स्कलोनीको भनाईको आधारमा मेस्सीले सन्यास लिने अनुमान गरिएको छ ।
यसअघि रुस विश्वकपमा उच्च प्रदर्शन गर्न नसक्दा मेस्सीको चौतर्फी आलोचना भएको थियो । स्पेनिस क्लब बार्सिलोनाका लागि सबै उपाधि दिलाउन सफल भएपनि राष्ट्रिय टोलीलाई केहि दिन नसकेको आरोप मेस्सीलाई लाग्दै आएको छ ।
रुस विश्वकप लगत्तै अर्जेन्टिनाका मुख्य प्रशिक्षक जोर्गे साम्पाओलीले राजिनामा दिएका थिए । यस्तै विश्वकप लगत्तै मेस्सीले सन्यास लिने चर्चा समेत सुनिएको थियो ।