एजेन्सी । स्पेनिस फुटबलर्स युनियन (एएफई) ले स्पेन बाहिर ला लिगाको लिग खेल खेलाउने ला लिगाको निर्णयप्रति आपत्ति जनाएको छ ।
मड्रिडमा बुधबार राति बसेको एएफईको बैठकले ला लिगाले स्पेन बाहिर लिग खेलाउने विवादास्पद निर्णय गरेको जनाएको छ । यस्तै एएफईले खेलाडीसंग छलफल नगरी ला लिगाले निर्णय गरेको भन्दै आन्दोलनको चेतवानी समेत दिएको छ । ला लिगाले पैसा र व्यापारलाई मात्र महत्व दिएको समेत जनाएको छ ।
ला लिगाले गत बिहिबार अमेरिका र क्यानाडामा ला लिगाको लिग खेल आयोजना गर्ने निर्णय गरेको थियो । जसका लागि ला लिगाले स्पोर्ट्स र मनोरञ्जन कम्पनि रिलिभेन्ट स्पोर्ट्ससंग १५ बर्षे सम्झौता गरेको छ ।
सम्झौतासंगै अमेरिका वा क्यानाडामा प्रत्येक सिजन कम्तिमा एक ला लिगा खेल जनाइएको छ । तर, फुटबलर्स युनियनको आन्दोलनको चेतवानीसंगै ला लिगालाई अप्ठ्यारो बनाएको छ ।
बैठकमा रियल मड्रिडका कप्तान सर्जियो रामोस, नाचो, बार्सिलोनाका बुस्केट्स, सर्जियो रोबर्टो, एट्लेटिको मड्रिडका कोके लगायतका खेलाडीको उपस्थिति रहेको थियो ।
बैठकपछि एएफईका अध्यक्ष डेभिड अगन्जोले भने, 'हामी यो एकपक्षीय निर्णयले थकित छौं । स्पेन बाहिर खेलाउने योजनाले खेलाडीलाई प्रत्यक्ष रूपमा असर गर्दछ ।'
यस्तै अध्यक्ष अगन्जोले फुटबललाई पैसा र व्यापारको लागि मात्र प्रयोग गरिएको आरोप लगाए । ला लिगाको यो निर्णयप्रति क्लब मालिकको सहयोग आवश्यकता रहेको बताउदै अध्यक्ष अगन्जोले थपे, 'यहाँ सामान्य ज्ञानको समेत कमी देखियो । केवल फुटबल फाइदाको लागि हेरियो । समर्थकहरुको गणना भएन् । ला लिगाका अफिसियलहरुले खेलाडीको स्वास्थ्य र जोखिममा चासो राखेन ।'
यस्तै एएफईले ला लिगाको निर्णयप्रतिको अर्को बैठक आगामी सेप्टम्बरमा गर्ने निर्णय गरेको छ ।