एजेन्सी । भारतीय कप्तान विराट कोहलीले इंग्ल्यान्डविरुद्धको जित केरेला बाढी प्रभावित मानिसलाई समर्पित गरेको बताएका छन् ।
इंग्ल्यान्डको नटिङघममा बिहिबार सम्पन्न तेस्रो टेष्ट क्रिकेटमा भारतले घरेलु टोलीलाई २०३ रनले हराएको थियो । इंग्ल्यान्डविरुद्धको जितपछि बोल्दै कप्तान कोहलीले केरेला राज्यमा आएको बाढी र पहिरो प्रभावित जनतालाई समर्पण गरेको बताए ।
'म र मेरो टिम यो जित केरेला बाढी पहिरो पीडितहरुलाई समर्पण गर्न चाहन्छौ,' कप्तान कोहलीले भनेका छन् ।
यसै साता केरेलामा आएको शताब्दीकै ठुलो बाढीले ४ सय बढी मानिसको ज्यान गएको थियो । यस्तै एक लाख बढी मानिस प्रभावित भएका थिए ।
यस्तै कप्तान कोहलीले इंग्ल्यान्डको तेस्रो टेष्ट खेल भारतको जित अत्यावश्यक रहेको बताए ।
सिरिजको यो अवस्थामा जित अत्यन्त आवश्यक थियो । र, हामीले तीनै क्षेत्रमा त्यहिँ अनुसारको प्रदर्शन गर्यो,' कप्तान कोहलीले भने, 'कप्तानको रुपमा प्रदर्शनबाट खुसी छु ।'
पाँच खेलको सिरिज अन्तर्गत अघिल्ला दुई खेल गुमाएको भारतले तेस्रो खेलमा भने जित निकालेको हो । भारतले दिएको ५२१ रनको लक्ष्यसहित दोस्रो इनिङस थालेको इंग्ल्यान्ड भारतीय बलरसामु निरिह बन्दै ३१७ रनमा समेटिएको थियो ।