एजेन्सी । घरेलु टोली इंग्ल्यान्डविरुद्धको तेस्रो टेष्ट क्रिकेट भारतले जितेको छ । तेस्रो टेष्टको अन्तिम तथा पाँचौ दिन बुधबार भारतले इंग्ल्यान्डलाई २०३ रनले हराएको हो ।
नटिङघममा भारतले दिएको ५२१ रनको लक्ष्यसहित दोस्रो इनिङस थालेको इंग्ल्यान्ड भारतीय बलरसामु निरिह बन्दै ३१७ रनमा समेटियो । चोटबाट मुक्त हुँदै मैदान फर्किएका बलर जस्प्रित बुमराहले उत्कृष्ट प्रर्दशन गरेपछि भारतले इंग्ल्यान्डलाई हराएको हो ।
बुमराहले ८५ रन खर्चेर ५ विकेट लिएपछि भारत चौथो दिन नै जित नजिक पुगेको थियो । चौथो दिनको खेलको समाप्तिमा इंग्ल्यान्डले ९ विकेट गुमाएर ३११ रन बनाएको छ । तर, पाँचौ दिन इंग्ल्यान्डले थप ६ रन जोड्दा बाँकी रहेको एक विकेट गुमायो ।
भारतका रविचन्द्र आश्विनले जेम्स एण्डरसनलाई ११ रनमा आउट गरे । आदिल राशिद ३३ रनमा अविजित रहे । दोस्रो इनिङसमा जोस बटलरले १०६ रनको शतकीय इनिङ खेलेपनि टोलीको हार जोगाउन सकेनन् ।
यसअघि कप्तान विराट कोहलीको शतकीय इनिङसमा भारतले ७ विकेटको क्षतिमा ३५२ रन जोड्दै दोस्रो इनिङस समाप्तिको घोषणा गरेको थियो । भारतले पहिलो इनिङसमा ३२९ रन बनाएको थियो । इंग्ल्यान्डले पहिलो इनिङसमा मात्र १६१ रन जोडेको थियो ।
यो जितसंगै भारतले पाँच खेलको सिरिज २ – १ को स्थितिमा ल्याएको छ । अघिल्ला दुई खेल इंग्ल्यान्डले जितेको थियो ।