एजेन्सी । इंग्ल्यान्डका बलर जोफ्रा आर्चरले सन् २०१९ को एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जित्दाको स्वर्ण पदक हराएका छन् ।
बीबीसीसँगको अन्तर्वार्तामा आर्चरले आफुले विश्वकपको पदक गुमाएको बताएका हुन् । घरको डिजाइन परिवर्तन गर्ने क्रममा आफुले पदक गुमाएको आर्चरले बताए ।
'मेरोलागि कसैले एक फोटो खिचेको थियो र मलाई पठाएको थियो । त्यसमा मेरो पदक झुण्डिएको थियो,' उनले भने, 'मैले मेरो फ्लाट परिवर्तन गरे । त्यहाँ नयाँ पर्खाल छ तर कुनै पदक छैन । अझैसम्म मैले यसलाई फेला पार्न सकेको छैन ।'
घरेलु मैदानमा भएको विश्वकपको उपाधि इंग्ल्यान्डले जितेको थियो । रोमान्चक बनेको फाइनलमा इंग्ल्यान्डले न्युजिल्याण्डलाई सर्वाधिक धेरै बाउन्ड्रीको आधारमा हराएको थियो ।
खेल बराबरी भएपछि सुपर ओभरमा गएको थियो । तर, सुपर ओभर समेत बराबरी भएपछि सर्वाधिक धेरै बाउन्ड्रीको आधारमा इंग्ल्यान्ड च्याम्पियन बनेको थियो ।
यस्तै आर्चरले आफुले पदकको खोजी जारी राखेको तर पाउन नसकेको बताए ।
'मलाई थाहा छ यो घरमा हुनुपर्दछ त्यसैले म यसको लागि खोजी गर्नेछु तर म पहिले नै यसको खोजीमा बौलाहा भएको छु,' उनले थपे ।