एजेन्सी । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले आफुले इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोर बाहेक अन्य टिमबाट नखेल्ने बताएका छन् ।
बैंगलोरका कप्तान समेत रहेका विराटले आईपीएलमा बैंगलोरबाट मात्र खेल्ने बताएका हुन् ।
दक्षिण अफ्रिकाका पूर्व खेलाडी तथा बैंगलोरका सहकर्मी एबी डिभीलियर्ससँगको इन्स्टाग्राम लाईभमा कोहलीले कुनैपनि हालतमा टिम नछाड्ने बताएका हुन् ।
कोहलीले आईपीएलको उपाधि जित्न चाहेको समेत बताए । बैंगलोर आईपीएलमा तीन पटक फाइनल पुगेपनि उपाधि जित्न सकेको छैन ।
'यो शानदार यात्रा रहेको छ । एकसाथ टिममा रहेर उपाधि जित्ने हाम्रो लक्ष्य छ,' कोहलीले भने, 'तर टिम छाड्नु पर्ने परिस्थिति छैन । मैले टिम छाड्नु पर्दा सोच्नु पर्ने हुन सक्छ । लिगमा राम्रो गर्न नसक्दा भावुक हुन सकिन्छ तर जबसम्म म आईपीएल खेल्छु, यो टिम कहिल्यै छाड्दिन ।'
कोहलीले बैंगलोरका समर्थकको समेत खुलेर प्रशंसा गरे । कोहलीले आईपीएल करियर बैंगलोरबाट नै गरेका थिए ।
यस्तै डिभीलियर्सले समेत बैंगलोर छोड्न नचाहेको बताएका छन् ।
'म पनि आरसीबी छोड्न चाहान्न । त्यसको लागि मैले रन बनाउनुको विकल्प छैन किनकी म कप्तान हैन,' डिभीलियर्सले भने ।