एजेन्सी । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र दक्षिण अफ्रीकाका पूर्व खेलाडी एबी डिभिलियर्सले आईपीएलमा शतक प्रहार गरेको ब्याट लिलामी गर्ने भएका छन् ।
कोरोना भाइरसविरुद्ध लड्न सहयोग रकम उठाउने उदेश्यले उनीहरुले सन् २०१६ को आईपीएलमा शतक प्रहार गरेको ब्याट लिमामी गर्ने भएका हुन् ।
यस्तै उनीहरुले क्रिकेटसँग सम्बन्धित अन्य सामान समेत लिलामीमा राख्ने बताएका छन् । जसमा गुजरात लायन्सविरुद्ध यी खेलाडीले लगाएको ग्लोब्स र जर्सी समेत रहेको छ ।
कोहली र डिभिलियर्सको शतकीय इनिङ्समा बैंगलोरले ३ विकेटको क्षतिमा २ सय ४८ रन बनाएको थियो । बैंगलोरले त्यस खेल १ सय ४४ रनको फराकिलो अन्तरले जितेको थियो ।
खेलमा कोहलीले १ सय ९ रन तथा डिभिलियर्सले १ सय २९ रनको सानदार इनिङ्स खेलेका थिए ।
'हामीले एकसाथ केही राम्रो इनिङ्स खेलेका छौं । सन् २०१६ को आईपीएलमा गुजरात लायन्सविरुद्ध खास म्याच थियो,' डिभिलियर्सले इन्स्टाग्राम लाईभमा कोहलीसँग भने, 'मैले १ सय २९ रन बनाएको थिएँ र तपाईले (वितर) १०० को आसपास बनाउनु भयो । यो सधैं हुँदैन । जब दुई ब्याट्सम्यानले टी-ट्वान्टी अन्तर्राष्ट्रिय शतक बनाउनु असम्भव हुन्छ । त्यसैले यो खेल मेरो लागि यादगार छ ।'
'मैले सोचिरहेको थिएँ कि हामी कसरि मद्दत गर्न सक्छौं । त्यसैले मेरो र तपाईको त्यो खेलमा प्रयोग भएको सामान (ब्याट, जर्सी, ग्लोब्स) लिलामी गर्दै ठुलो रकम सहयोगमा जुटाउन सक्छौं,' उनले थपे, 'मलाई लाग्छ यसबाट ठुलो रकम जम्मा हुन्छ र दुई देशमा आवश्यक परेकालाई खानाको व्यवस्था गर्न सकिन्छ ।'
यस्तै कोहलीले डिभिलियर्सको योजनामा समर्थन जनाएका छन् ।
'यो शानदार विचार हो । तपाई भारतमा समेत सहयोग गर्न चाहनुहुन्छ जहाँ तपाइको समर्थक ठुलो संख्यामा रहेका छन्,' कोहलीले भने, 'मलाई लाग्दैन मैले एक इनिङमा यति रन बनाउन सक्छु । मैले त्यस समयको सामान सम्हालेर राखेको छु ।'