एजेन्सी । अफगानिस्तानको ऐतिहासिक डेब्यु टेष्ट क्रिकेटमा भारत इनिङ्स र २ सय ६२ रनले विजयी भएको छ । भारतले पहिलो टेष्ट खेलमा दुई दिनमै जित निकालेको हो । उसले एकै दिनमा अफगानिस्तानको दुवै इनिङ्सलाई ध्वस्त बनायो ।
यो जित टेष्ट क्रिकेटमा भारतको अहिले सम्मकै ठुलो अन्तरको जित हो । यसअघि भारतले सन् २००७ मा बंगलादेशबिरुद्ध इनिङ्स र २ सय ३९ रनको जित दर्ता गरेको थियो । त्यस्तै, सन् २०१७ मा श्रीलंकाबिरुद्ध इनिङ्स र २ सय ३९ रनको जित निकालेको थियो ।
टस जितेर पहिले ब्याटिङ गरेको भारतले आफ्नो पहिलो इनिङ्समा ४ सय ७४ रनको बिशाल लक्ष्य तय गरेको थियो । जबाफी ब्याटिङमा उत्रिएको अफगानिस्तान पहिलो इनिङ्समा १ सय ९ रनमा समेटियो ।
भारतले पहिलो इनिङ्सको आधारमा अफगानिस्तानबिरुद्ध ३ सय ६५ बढी रन लिएको थियो । भारतका कप्तान आजिक्या रहाणेले अफगानिस्तानलाई फ्लो अन दिएका थिए । जवाफी ब्याटिङमा उत्रिएको अफगानिस्तान १ सय ३ रनमा समेटियो ।
दोस्रो इनिङ्समा अफगानिस्तानका हसमातुल्लाहले सबै भन्दा बढी ३६ रन बनाएका थिए । दोस्रो इनिङ्समा भारतका रविन्द्र जडेजाले ४ विकेट लिएका थिए ।