काठमाडौं । एसिया कप छनोटको तयारी गर्न श्रीलंका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा श्रीलंका आर्मी स्पोर्ट्स क्लबलाई १९५ रनको लक्ष्य दिएको ।
श्रीलंका आर्मीको घरेलु मैदान पानागोडामा जारी खेलमा नेपालले घरेलु टोलीलाई जितका लागि १९५ रनको लक्ष्य दिएको हो । नेपालले दिएको १९५ रनको लक्ष्यसहित श्रीलंका आर्मीले केहि बेरमा ब्याटिङ्ग थाल्ने छ ।
ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदान उत्रिएको नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ४८ ओभर ४ बलमा अलआउट हुँदै १९४ रन बनाउन सक्यो । श्रीलंकाको फस्ट क्लास क्लब आर्मीविरुद्ध नेपालका आरिफ शेखले अर्धशतकीय इनिङस खेले ।
आरिफले ११८ बल खेल्दै ८९ रनको योगदान दिए । नेपालको सम्मानजनक स्कोरमा उनले ८३ बलमा अर्धशतक पुरा गरेका थिए । यस्तै नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले २१ तथा बसन्त रेग्मी र विनोद भण्डारी समान १६/१६ रन जोडे । रोहित कुमार पौडेल १२ रन आउट भए ।
श्रीलंका आर्मीका मधुसन फर्नान्डोले ३ तथा सन्जिउ कुमारास्वामी र जगत राजपाक्षेले समान २/२ विकेट लिए ।
मलेसियामा अगष्ट अन्तिम साताबाट आयोजना हुने एसिया कप अघि एक साताको प्रशिक्षण गर्न नेपाली टोली श्रीलंका पुगेको हो ।
यस्तै नेपालले अगष्ट २४ मा ब्लुमफिल्ड क्लबसंग उसैको मैदानमा दोस्रो अभ्यास खेल खेल्नेछन् । नेपालले अन्तिम अभ्यास खेलमा कोल्ट्ससंग उसैको मैदानमा खेल्ने छन् । तीन अभ्यास र प्रशिक्षणपछि नेपाली टोली अगष्ट २७ मा श्रीलंकाबाटै मलेसिया प्रस्थान गर्ने छन् ।