एजेन्सी । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले टिममा नपर्दा आफु पुरै एक रात रोएर बिताएको खुलासा गरेका छन् ।
प्रादेशिक क्रिकेट खेल्ने समय टिममा नपरेपछि बिहान ३ बजेसम्म रोएको विराटले खुलासा गरेका हुन् ।
विराट र धर्मपत्नी अनुस्का शर्माले विद्यार्थीसँग अनलाईन कक्षामा आफ्नो जीवनको बारे बताउँदा विराटले यस्तो खुलासा गरेका हुन् ।
'पहिलो पटक म प्रादेशिक छनोटमा छनोट हुन असफल भएको थिएँ,' विराटले भने, 'मलाई याद छ त्यो रातभर म रोएको थिएँ । रुँदा रुँदै बिहानको ३ बजेछ । अहिले आफैले विश्वास गर्न सक्दिनँ ।'
आफुले राम्रो गरेपनि टिममा नपरेपछि आफु रोएको उनले बताए ।
'मैले खेलमा राम्रो गरेको थिएँ । राम्रो खेलेर त्यो स्थानमा पुगेको मलाई कसरी छनोट गरिएन,' उनले थपे, 'मैले प्रशिक्षकलाई २ घण्टा यसबारे प्रश्न गरिरहें । तर मलाई जवाफ थाहा भएन ।'
राष्ट्रिय टिममा डेब्यु गर्नु अघि कोहलीले सन् २००६ मा दिल्लीबाट राष्ट्रिय प्रतियोगिता खेलेका थिए । त्यसयता उनले लामो यात्रा गरिसकेका छन् ।
विराट अहिले विश्वका उत्कृष्ट मध्यका एक ब्याट्सम्यान हुन् ।
कप्तान विराटले ४३ एकदिवसीय अन्तर्राष्ट्रिय शतक जोडी सकेका छन् । उनी सर्वाधिक शतक बनाउने सचिन तेन्दुलकर भन्दा ६ शकतले पछि छन् ।