एजेन्सी । भारतीय क्रिकेटर लोकेश राहुलले सन् २०१९ विश्वकपको ब्याट लिलामी गर्ने भएका छन् ।
राहुलले बालबालिकाको सहयोगको लागि आफ्नो क्रिकेट सामग्री लिलामी गर्ने भएका हुन् ।
राहुलले २८ औं जन्मोत्सवको अवसरमा विश्वकपको ब्याटसंगै थुप्रै क्रिकेट सम्बन्धित लिलामी गर्ने बताएका छन् ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट प्रभावित बालबालिकाको लागि सहयोग जुटाउन लोकेशले क्रिकेट सामाग्री लिलामी गर्न लागेका हुन् ।
राहुलको स्पोन्सर गुल्लीले समेत यसमा सहयोग गर्ने बताएको छ । लिलामीमा प्राप्त हुने सबै रकम 'अवेर फाउन्डेसन' लाई हस्तान्तरण गरिनेछ ।
'त्यो मेरो खास दिन हो,' जन्मदिनलाई उदृत गर्दै राहुलले भने, 'म र गुल्ली मिलेर केही राम्रो र खास काम गर्न चाहान्छौं ।'
'मैले क्रिकेट प्याड्स, ग्लोब्स, हेल्मेट र केहि जर्सी भारत आर्मीसँग मिलेर दान गर्ने निर्णय गरेको छु,' राहुलले थपे, 'त्यी सबै सामान लिलामीमा जाने छ र सबै उठ्ने रकम अवेर फाउन्डेसनलाई हस्तान्तरण हुनेछ ।'
अवेर फाउन्डेसनले बालबालिकालाई सहयोग गर्दै आएको छ ।
यसअघी समेत राहुलले बन्यजन्तुको सहयोगको लागि अन्य संस्थालाई सहयोग गर्दै आएका थिए । गत वर्ष समेत राहुलले एक क्यान्सर पिडित बच्चालाई सहयोग गरेका थिए ।