एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बिहिबार प्रमुख कार्यकारी समितिको बैठक बोलाएको छ ।
आईसीसीले भिडियो कलको माध्यमबाट हुने बैठक बिहिबार आयोजना गरिने जनाएको छ । बैठकमा १२ पूर्ण सदस्य राष्ट्र र ३ एसोसियट राष्ट्रको सहभागिता रहने बताईएको छ ।
बैठकमा कोरोना भाईरसको कारण स्थगित क्रिकेट गतिविधिबारे महत्वपूर्ण निर्णय हुने बताईएको छ । बैठकमा सरकारसँगको सहकार्य गर्दै पुन: अन्तर्राष्ट्रिय क्रिकेट सुचारु गर्ने विषयमा छलफल हुनेछ ।
'विश्वब्यापी कोरोना महामारीको प्रभावको मूल्यांकन र सँगै मिलेर काम गर्नका लागि यो बैठक पहिलो चरण हो ।' आईसीसीका सिईओ मनुले भने, 'हामीले ज्ञान बाँडफाँड गर्नु आवश्यक छ । यसले अन्तर्राष्ट्रिय क्रिकेट फेरि सुरु गर्न के गर्न सकिन्छ भनेर गहिरो छलफल हुनेछ।'
चीनबाट फैलिएको कोरोनाको कारण विश्व क्रिकेट ठप्प रहेको छ । जसले गर्दा क्रिकेटको अन्तर्राष्ट्रिय खेल तालिकामा समेत असर गरेको छ ।
कोरोनाको कारण आईसीसीले आगामी जुलाईसम्मको अन्तर्राष्ट्रिय क्रिकेट स्थगित गरिसकेको छ ।
यस्तै बैठकमा विश्व टेष्ट च्याम्पियनसिप, यसै वर्ष हुने आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट, विश्व क्रिकेट लिग-२ लगायतका विषयमा समेत छलफल हुने बताईएको छ ।