एजेन्सी । भारतीय क्रिकेट टिमका पूर्व स्टार युवराज सिंह एक उत्कृष्ट अलराउण्डर हुन् । उनले टी-ट्वान्टी विश्वकपमा ६ बलमा ६ छक्का प्रहार गर्ने कीर्तिमान बनाएका छन् ।
युवराजले सन् २००७ मा इंग्ल्याण्डविरुद्ध स्टुवार्ड ब्रोडको ओभरमा यो कीर्तिमान रचेका थिए । उक्त कीर्तिमान बनाउँदा इंग्ल्यान्डका अर्का खेलाडी एन्ड्रयु फ्लिनटफले भने युवराजलाई धम्की दिएका थिए ।
युवराजले उक्त कीर्तिमान बनाएको १३ वर्षपछि एन्ड्रयुले आफुलाई धम्की दिएको रहस्य खुलाएका छन् ।
सन् २००७ टी-ट्वान्टी विश्वकपको पहिलो प्रतियोगिता रहेको थियो । दक्षिण अफ्रिकामा भएको प्रतियोगितामा सायदै यस्तो कीर्तिमान बन्छ भनेर कसैले सोचेका थिएनन् ।
१३ वर्ष वितिसक्दा समेत यो कीर्तिमान कुनै खेलाडीले तोड्न सकेका छैनन् ।
युवराजले भारतको आजतकसँगको अन्तर्वार्तामा उल्ट घटनाको खुलासा गरेका हुन् ।
स्टुवार्डलाई ६ छक्का प्रहार गर्नु अघि युवराजको एन्ड्रयुसँग चर्का चर्की भएको थियो । एन्ड्रयुको राम्रो बलमा युवराजले २ चौका प्रहार गरेका थिए । तर, एन्ड्रयुले युवराजलाई नराम्रो सट प्रहार गरेको भन्दै जिस्काएका थिए । यस्तै सार्वजनिक रुपमा बोल्न नहुने शब्दले गाली गरेको समेत युवराजले बताए ।
'मैले एन्ड्रयुको २ राम्रो बलमा चौका प्रहार गरेको थिएँ तर उनलाई यो गार्हो भयो,' युवराजले भने, 'ओभरपछि म नन स्ट्राइकमा जाँदै थिएँ । उनले त्यो समय जे भने त्यो म दोहोर्याउन सक्दिन । उनले मेरो सट खराब रहेको समेत बताएका थिए । त्यसैले मैले के भनेको भन्दै जवाफ दिएँ र विवाद सुरु भयो ।'
त्यसपछि के भयो त ?
एन्ड्रयु : म तेरो घाँटी छिनाउँछु ।
युवराज : मेरो हातमा यो ब्याट देखेको छस् । यो ब्याटले तलाई कहाँ हिर्काउन सक्छु थाहा छ ?
तर, खेलमा ठुलो विवाद आउनु भन्दा पहिले दुई अम्पाएरले खेलाडीको चर्का चर्कीमा हस्तक्षेप गरे । लगत्तै युवराजले बाँकी बल सबै छक्काको लागि प्रयास गर्ने अठोट गरे ।
'अम्पाएरले हामीलाई बिथोलिदिए तर म त्यस क्षण निकै आक्रामक भएको थिएँ,' युवराजले थपे, 'त्यसैले मैले आउने सबै बल दर्शकदीर्घामा पठाउने सोच बनाएँ र भाग्यवश त्यो मेरो दिन थियो ।'