एजेन्सी । पाकिस्तानका पूर्व कप्तान साहिद अफ्रिदीले भारतका पूर्व ब्याट्सम्यान गौतम गम्भीर व्यक्तित्व नभएको खेलाडी भएको बताएका छन् ।
अफ्रिदीले आफुले भारतका थुप्रै खेलाडीसँग खेलेको तर गम्भीरमा भने मनोवृत्तिको समस्या रहेको बताएका हुन् ।
'गौतम गम्भीरमा आचरणको समस्या छ । उसको कुनै व्यक्तित्व छैन,' अफ्रिदीले भनेका छन्, 'उसको इतिहास राम्रो छैन । कारण उसको मनोवृति हो ।'
पाकिस्तान र भारतबीचको खेलको क्रममा अफ्रिदी र गम्भीरबीच धेरै पटक मैदानमा विवाद भएको इतिहास छ । कतिपय खेलमा दुई खेलाडीबीच हात हालाहालको अवस्था समेत सिर्जना हुने गरेको थियो ।
सन् २००७ को एसिया कपमा अफ्रिदी र गम्भीरबीच मैदानमै विवादमा उत्रिएका थिए । जुन घटना क्रिकेटमा निकै चर्चित छ ।
पाकिस्तानविरुद्धको खेलमा गम्भीर प्राय: आक्रामक रुपमा प्रस्तुत हुने गरेका थिए । जसको कारण समेत पाकिस्तानी खेलाडीले गम्भीरलाई धेरै घृणा गर्थे ।