एजेन्सी । पाकिस्तानका पूर्व कप्तान साहिद अफ्रिदीले आफ्नो क्रिकेट करियरमा सामना गरेको कठिन ब्याट्सम्यानबारे खुलासा गरेका छन् ।
अफ्रिदीले वेष्ट इण्डिजका पूर्व स्टार ब्रायन लारा आफुले बलिङ गरेको मध्येका सबैभन्दा कठिन ब्याट्सम्यान रहेको खुलासा गरेका हुन् ।
उनले हरेक पटक लारालाई बलिङ गर्दा आफुले बाउन्ड्री खान सक्ने डर हुने गरेको समेत बताएका छन् ।
अफ्रिदीले कहिल्यै लाराविरुद्ध आफुले आत्मविश्वासका साथ बलिङ नगरेको समेत खुलासा गरेका छन् ।
'त्यो ब्रायन लारा नै हुनुपर्छ,' अफ्रिदीले एक अन्तर्वार्तामा भने, 'मैले केही पटक उनलाई आउट गरेको छु तर जब म उनलाई बलिङ गर्थे, हरेक पटक चौका वा छक्का प्रहार गर्छन् जस्तो लाग्थ्यो । उनलाई मैले कहिल्यै आत्मविश्वासका साथ बलिङ गर्न सकिन ।'
यस्तै अफ्रिदीले लारालाई विश्वका उत्कृष्ट ब्याट्सम्यान बताएका छन् । मुथैया मुरलिधरन जस्ता स्पिनरलाई समेत हैरान गर्ने क्षमता लारामा रहेको बताएका छन् ।
अफ्रिदिले लाराको 'फुटवर्क' निकै कलात्मक रहेको समेत बताए ।