एजेन्सी । श्रीलंका क्रिकेट (एसएलसी)ले अनिश्चिकालका लागि स्थगित ईन्डियन प्रियिमर लिग (आईपीएल) आयोजनामा ईच्छुक देखिएको छ ।
तर भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)का एक प्रभावशाली अधिकारीले कोरोना भाईरससंग विश्व समुदायसंग लडिरहेको सयम यस प्रकारको चर्चा गर्नुको कुनै अर्थ नभएको बताएका छन् ।
आईपीएल पूर्व निर्धारित कार्यक्रम अनुसार मार्च २९ देखि मार्च २४ सम्म आयोजित गर्ने तय थियो । तर कोरोना भाईरसका कारण आईपीएल अनिश्चिकालका लागि स्थगित गरिएको छ ।
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले अवस्था सामान्य बनेपछि आयोजनाको बिषयमा अघि बढ्ने बताएको छ ।
श्रीलंका क्रिकेटका अध्यक्ष शम्मी सिल्वाले बिहिबार श्रीलंका आईपीएल आयोजना गर्न तयार रहेको बताएका थिए ।
श्रीलंकामा कोरोना भाईरसबाट संक्रमितको संख्या कम छ । भारतको तुलनामा श्रीलंकामा चाँडै अवस्था सामान्य हुने सम्भावना देखिएको छ ।
बीसीसीआईका एक अधिकारीले प्रेस ट्रस्ट अफ ईन्डियासंग कुराकानी गर्दै श्रीलंकाको प्रस्तावमा प्रतिक्रिया दिने अवस्थामा आफुहरु नभएको बताएका छन् ।
उनले भने, ‘जब विश्वमा सबै कुरा ठप्प छ । त्यस अवस्थामा बीसीसीआई केही भन्ने अवस्थामा छैन ।’
श्रीलंकामा कोरोनाका कारण करिब २ सय मानिस प्रभावित छन् । तर भारतमा संक्रमितको संख्या १३ हजार रहेको छ । भारतमा ४ सय ५० मानिसको कोरोनाका कारण ज्यान गएको छ ।
श्रीलंकाको प्रस्तावको बिषयमा उत्तर दिदै बीसीसीआईका अधिकारीले श्रीलंकाबाट कुनै औपचारिक प्रस्ताव नआएको बताएका छन् ।
उनले भने, ‘श्रीलंका क्रिकेटको अहिलेसम्म कुनै औपचारिक प्रस्ताव प्राप्त भएको छैन । सोही कारण यसमा चर्चा गर्ने बिषयनै उठ्दैन ।’