एजेन्सी । इंग्ल्यान्डका पूर्व क्रिकेटर केभिन पिटरसनले भारतका महेन्द्र सिंह धोनी खेल जगतकै सर्वकालीन सर्वोकृष्ट कप्तान भएको बताएका छन् ।
स्टार स्पोर्ट्ससँग कुरा गर्दै इंग्ल्यान्डका पूर्व स्टार पिटरसनले दबाबको समयमा समेत खेल आफ्नो पक्षमा पार्ने खुबी धोनीमा रहेको बताउँदै उनी सर्वोकृष्ट कप्तान भएको बताएका हुन् ।
'धोनीकोविरुद्ध खेल्न जाँदा निकै कठिन हुन्छ किनकी सबैजना धोनीसँग आशा गर्छन । उसले आफ्नो जीवन कसरी बिताउछन् । उनले भारतको कप्तानी गरेका छन् र चेन्नईको कप्तानी पनि गरिरहेका छन्,' इंग्ल्यान्डका लागि १ सय ४ टेष्ट खेलेका पिटरसनले भनेका छन् ।
भारतका पूर्व कप्तान धोनीले सबै फर्म्याटमा ३ सय ३२ खेल खेलिसकेका छन् । जसमा १ सय ७८ खेल जितेका छन् । धोनीले आफ्नो कप्तानीमा २ सय एकदिवसीय खेलमा भारतलाई १ सय १० खेल जिताएका छन् ।
भारतलाई सन् २००७ र २०११ को विश्वकप उपाधि दिलाउन सफल धोनीले चेन्नई सुपर किंग्सलाई तीन पटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि दिलाएका छन् ।
भारतले सन् २०१३ को च्याम्पियन्स ट्रफी जित्दा धोनी कप्तान थिए ।