काठमाडौं । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेपछि क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले दोस्रो जित निकालेको छ ।
सन्दीपको उत्कृष्ट प्रदर्शनमा बुधबार बिहान प्याट्रियट्सले सेन्ट लुसिया स्टार्सलाई ७ विकेटले हराएको छ । स्टार्सलाई ६९ रनमा अलआउट गराउन सन्दीपले दुई ओभर बलिङ गर्दै मात्र १२ रङ खर्चेर महत्वपूर्ण २ विकेट लिए ।
सन्दिपले पहिलो विकेटका रुपमा अष्ट्रेलियाका पुर्व उपकप्तान तथा ओपनर ब्याट्सम्यान डेभिड वार्नरलाई आउट गराएका थिए । आठौं ओभरको तेस्रो बलमा सन्दीपले वार्नरलाई वेन कटिङको हातबाट क्याच आउट गराए । यस्तै सन्दीपले दोस्रो विकेटको रुपमा क्वेस अहमदलाई पेभेलियन फर्काए । सीपीएलमा सन्दीपले अहिलेसम्म सात विकेट लिईसकेका छन् ।
यस्तै प्याट्रियट्सका लागि शेल्डोन कोर्टेलले ३ तथा मोहमद महमुदउल्लाहले २ विकेट लिए । प्याट्रियट्सका स्पिनर चम्कदा स्टार्स १२ ओभर भित्रै अलआउट भएको थियो । स्टार्सका लागि क्वेस अहमदले २४ तथा वार्नरले १४ रन बनाए । दुवैलाई सन्दीपले पेभेलियन फर्काएका थिए ।
स्टार्सले दिएको ७० रनको लक्ष्य प्याट्रियट्सले ७ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । प्याट्रियट्सका कप्तान देभोन थोमसले अविजित ३८, ब्रान्डोन किंग्सले १७ तथा इभिन लेविसले १३ रन जोडे ।
यो जितपछि सीपीएल क्रिकेटमा सन्दीपको टिम प्याट्रियट्स ४ खेलबाट ४ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । ६ खेलमा २ अंक जोडेको स्टार्स पुछारमा रहेको छ ।