काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक ग्यातुकी कोजीलाई जिम्मेवारीबाट हटाउने तयारी गरेको छ ।
इन्डोनेसियामा भएको एसियन गेम्समा राष्ट्रिय यू-२३ टिमको खराब नतिजापछि एन्फाले मुख्य प्रशिक्षक ग्यातुकी कोजीलाई जिम्मेवारीबाट हटाउने निर्णय गर्न लागेको हो ।
एसियन गेम्सको फुटबलतर्फ नेपाल समूह चरणका तीनै खेलमा पराजित भएको थियो । समूह चरणको अन्तिम खेलमा पाकिस्तानविरुद्ध अग्रता लिएपनि नेपालले अन्तिम समयमा २–१ नतिजा विपक्षीलाई सुम्पिएको थियो ।
एसियन गेम्सको खराब नतिजापछि दबाबमा परेको एन्फाले मुख्य प्रशिक्षकको जिम्मेवारीबाट कोजीलाई हटाउन निर्णय गर्न लागेको छ । सोही बिषयमा निर्णय गर्न एन्फाले आज दिउँसो २ बजे आपतकालिन बैठक बोलाएको छ ।
एसियन गेम्सको नतिजापछि आसन्न दक्षिण एसियाली फुटबल प्रतियोगिता साफको तयारीमा रहेको नेपाली फुटबल टिमलाई ठुलो धक्का लागेको छ । फिफाको प्रतिबन्धपछि फुटबलमा फर्किएको पाकिस्तानसंग समेत पराजित भएपछि नेपालको साफ च्याम्पियनसिपमा उपाधि दाबेदारीता स्वत कमजोर बनेको थियो ।
एन्फाले मुख्य प्रशिक्षक कोजीलाई जिम्मेवारीबाट मुक्त गर्दै कार्यवहाक प्रशिक्षकको जिम्मेवारी सहायक प्रशिक्षक बालगोपाल महर्जनलाई दिने तयारी गरेको छ । महर्जन हाल राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा कार्यरत छन् ।
एन्फा स्रोतका अनुसार आसन्न साफ च्याम्पियनसिप नेपालले महर्जनकै नेतृत्वमा खेल्नेछ । एन्फा प्रवक्ता किरण राईका अनुसार राष्ट्रिय टिमको नतिजाबारे सहायक प्रशिक्षकले लिखित रिपोर्ट एन्फाको टेक्निकल कमिटिलाई पेश गर्नेछ । एन्फाले आज मध्यान्न १२ बजेभित्र लिखित रिपोर्ट बुझाउन सहायक प्रशिक्षक महर्जनलाई निर्देशन दिईसकेको छ ।
सोही अनुसार दिउँसो एक बजे टेक्निकल कमिटिको बैठक बस्नेछ । कृण्ण थापा संयोजकत्वको कमिटिले प्रशिक्षकको जिम्मेवारी फेरबदलका बिषयमा सुझाव सहितको निर्णय आपतकालिन समितिको बैठकमा पठाउनेछ । लगत्तै दिउँसो २ बजे बस्ने एन्फाको आपतकालिन बैठकले फुटबल प्रशिक्षकको बिषयमा निर्णय गर्नेछ ।
एन्फाले राष्ट्रिय फुटबल टिम समाल्ने गरि २०७२ साल फागुनमा मुख्य प्रशिक्षकमा कोजीलाई दुई बर्षका लागि नियुक्त गरेको थियो ।
साफ प्रतियोगिता जिताउने जिम्मेवारी सहित एन्फाले गत फागुनमा कोजीसंग सम्झौता नविकरण गरेको थियो । कोजीको अनुबन्धन आगामी नोभेम्बरमा सकिदैछ ।
यस्तै कोजीलाई सरकारले नेपाल प्रवेशमा समेत रोक लगाएको छ । पर्यटक भिषामा नेपालमा बस्दै आएको र श्रम स्वीकृति बिना नेपालमा काम गर्दै आएपछि अध्यागमन विभागले गत महिना प्रशिक्षक कोजीलाई सन् २०१८ सम्म नेपाल प्रवेशमा रोक लगाएको थियो ।
कोजीको नेतृत्वमा नेपालले सोलिडारिटी कपको उपाधि उचालेको थियो ।