एजेन्सी । इंग्ल्यान्डका पुर्व कप्तान डेभिड बेकह्यामले युरोपियन फुटबलको उच्च अवार्ड 'युईएफए प्रेसिडेन्ट्स अवार्ड' पाउने भएका छन् ।
युरोपियन फुटबलको सर्वोच्च निकाय युनियन अफ युरोपियन फुटबल एसोसिएसन (युईएफए) ले मंगलबार बेकह्यामलाई 'युईएफए प्रेसिडेन्ट्स अवार्ड' दिने निर्णय गरेको हो । युईएफएले फुटबलमा पुर्याएको योगदानको कदर गर्दै बेकह्यामलाई यो बर्षको प्रेसिडेन्ट्स अवार्ड दिन लागिएको जनाएको हो ।
युईएफए प्रेसिडेन्ट्स अवार्डको घोषणा गर्दै युईएफएका अध्यक्ष एलेक्जेन्डर सेफेरिनले भनेका छन्, 'सन् २०१८ को युईएफए प्रेसिडेन्ट्स अवार्ड डेभिड बेकह्यामलाई दिने घोषणा गर्न पाउदा म निकै खुसी छु । बेकह्याम आफ्नो पुस्ताका एक सच्चा फुटबल आइकन हुन् ।'
युईएफएले बेकह्यामलाई आगामी अगष्ट ३० मा मोनाकोमा हुने विशेष समारोहकाबीच यो अवार्ड प्रदान गर्ने जनाएको छ । उक्त दिन युईएफएले च्याम्पियन्स लिगको खेल तालिका समेत सार्वजनिक गर्दैछ ।
युईएफएले विश्व फुटबलमा लामो समयबाट योगदान दिदै आएका पुर्व खेलाडीलाई यो अवार्ड दिने गर्छ । प्रेसिडेन्ट्स अवार्ड पाउने भएपछि बेकह्यामले आफुलाई गर्व महसुस भएको बताए । 'यो अवार्ड जित्ने महान खेलाडीको सूचीमा आफुलाई पाउदा गर्व महसुस भएको छ,' युनिसेफका सद्भावना दुत समेत रहेका बेकह्यामले भनेका छन् ।
इंग्ल्यान्डमा लिजेण्ड बेकह्यामले इन्ग्लिश टोलीबाट ११५ खेल खेल्दै १५ गोल गरेका छन् । ४३ बर्षीय बेकह्यामले आफ्नो क्लब करियरमा १० लिग उपाधिसहित १९ ट्रफी जितेका छन् ।
बेकह्यामले इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेड, स्पेनिस क्लब रियल मड्रिड, इटालियन क्लब एसी मिलान, फ्रेन्च क्लब पिएसजी र अमेरिकी क्लब एलए ग्यालेक्सीबाट व्यवसायिक फुटबल खेलेका थिए ।