एजेन्सी । इन्ग्लिश क्लब लिभरपुलले गोलकिपर लोरिस क्यारियासलाई लोनमा टर्किस क्लब पठाउने भएको छ । लिभरपुलले गोलकिपर क्यारियासलाई टर्किस क्लब बेसिक्टास पठाउने तयारी गरिरहेको हो ।
जर्मन गोलकिपर क्यारियासलाई दुई बर्षको लागि लोनमा पठाउने तयारी गरिरहेको बिबिसीले जनाएको छ । क्यारियासलाई लोनमा पठाउने विषयमा लिभरपुल र बेसिक्टासबीच छलफल चलिरहेको समेत बिबिसीले जनाएको छ ।
लिभरपुलले यसै सिजन ब्राजिलियन गोलकिपर एलिसन बेकरलाई भित्राएपछि क्यारियासलाई लोनमा पठाउने तयारी गरिरहेको छ । २५ बर्षिय एलिसन ६६.८ मिलियन पाउण्डमा इटालियन क्लब रोमाबाट लिभरपुलमा आएका थिए । एलिसनले लिभरपुलसंग ६ बर्षे लामो सम्झौता गरेका छन् ।
क्यारियासले च्याम्पियन्स लिगको फाइनलपछि लिभरपुलबाट खेलेका छैनन् । प्रि सिजनको केहि अभ्यास खेलमा भने क्यारियासले खेलेका थिए । युक्रेनको किभमा गत मे २६ मा भएको च्याम्पियन्स लिगको फाइनलमा क्यारियासले केहि गल्ती गर्दा रियल मड्रिडले लिभरपुललाई ३ – १ ले हराएर उपाधि जितेको थियो ।