एजेन्सी । विश्व चर्चित फरवार्ड लियोनल मेस्सी युईएफए वर्ष खेलाडी अवार्डका लागि अन्तिम मनोनयनमा पर्न असफल भएका छन् ।
युरोपियन फुटबल एसोसियसनले सोमबार सार्वजनिक गरेको अन्तिम तीनको मनोनयनमा मेस्सीले स्थान बनाउन नसकेका हुन् । युरोपका ८० प्रशिक्षक र ५५ खेल पत्रकारको छनोट समितिको मतका आधारमा युईएफएले अन्तिम तीनको सूची निकालेको हो ।
बार्सिलोनाका अर्जेन्टाईन फरवार्ड मेस्सी अन्तिम तीनमा पर्न असफल हुँदा साबिकको विजेता क्रिस्टियानो रोनाल्डो, लुका मोड्रिच र मोहमद सलाहले भने अन्तिम सूचीमा स्थान बनाएका छन् ।
महिलातर्फ फ्रान्सकी हेनरी, डेनमार्ककी पर्निल हार्डर र नर्वेकी अदा हेगरवर्ग अन्तिम सूचीमा परेका छन् । युईएफएले आगामी अगष्ट ३० मा मोनाकोमा हुने च्याम्पियन्स लिग ड्र को अवसरमा बिजेता खेलाडीको घोषणा गर्नेछन् ।
अर्जेटिना र बार्सिलोनाका कप्तान मेस्सीले गत सिजन ला लिगा जितेपनि बर्ष खेलाडीको उपाधि होडमा पर्न सकेनन् । गत सिजन मेस्सीले बार्सिलोनाबाट च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गर्न सकेका थिएनन् । जसका कारण मेस्सीले यो पटकअन्तिम मनोनयनमा स्थान बनाउन नसकेका हुन् । यस्तै मेस्सी रुस विश्वकपमा समेत चल्न सकेका थिएनन् ।
यता, रोनाल्डोले स्पेनिस क्लब रियल मड्रिडलाई च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । रोनाल्डोको उच्च प्रदर्शनमा रियलले लगातार तेस्रो पटक च्याम्पियन्सको उपाधि जितेको थियो । पोर्चुगिज फरवार्ड रोनाल्डो यसै सिजन इटालियन क्लब युभेन्ट्स गएका छन् । रोनाल्डोले विश्वकपमा समेत राम्रो छाप छाडेका थिए ।
गत सिजन रियल मड्रिडले च्याम्पियन्स लिग जित्दा क्रोएसियाका प्ले मेकर मोड्रिच महत्वपूर्ण खेलाडी थिए । जसका कारण मोड्रिच शीर्ष तीनमा अटाए । रुस विश्वकपमा क्रोएसियालाई उपविजेता बनाउदाका कप्तान मोड्रिचले गोल्डेन बल जितेका थिए ।
यस्तै गत सिजन मात्र लिभरपुल आएका इजिप्टका सलाहले आएकै सिजनइन्ग्लिश प्रिमियर लिगमा शानदार प्रदर्शन गरेका थिए । सलाहले गत सिजन प्रिमियर लिगमा ४४ गोल गर्दै गोल्डेन बुट जितेका थिए । यस्तै लिभरपुललाई च्याम्पियन्स लिगको फाइनलमा पुर्याउन सलाहले महत्वपुर्ण भुमिका खेलेका थिए ।
यही अगष्ट ३० तारिखमा मोनाकोमा हुने च्याम्पियन्स लिग ड्र को अवसरमा एक उत्कृष्ट खेलाडीलाई अवार्ड प्रदान गरिनेछ।
यस्तै महिलातर्फ डेनमार्ककी पर्निल हार्डर, नर्वेकी अदा हेगरवर्ग र फ्रान्सका हेनरी अन्तिम सूचीमा परेका छन्।