एजेन्सी । विश्व विजेता इंग्ल्यान्ड क्रिकेट टिमका विकेटकिपर जोस बट्लरले विश्वकपको फाइनलमा प्रयोग गरेको जर्सी बिक्री भएको छ ।
बट्लरको जर्सी ६५ हजार पाउण्डमा बिक्री भएको हो । उनले कोरोना भाईरसको महामारीविरुद्ध लडिरहेको एक अस्पतालको सहयोगका लागि आफ्नो विश्वकप फाइनलको जर्सी लिलामीमा राखेका थिए ।
घरेलु मैदानमा सन् २०१९ मा भएको एकदिवसीय विश्वकपमा घरेलु टोलीले रोमाञ्चक फाइनलमा न्युजिल्याण्डलाई पराजित गरेको थियो ।
खेलमा बट्लरले ५९ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए भने सुपर ओभरको अन्तिम बलमा मार्टिन गुप्टिललाई उत्कृष्ट रन आउट गराउँदै जित दिलाएका थिए ।
बट्लरले जर्सीलाई लर्ड्समा लिलामीमा राखेका थिए । उनले सर्वाधिक बोली लगाउनेलाई जर्सी दिने र उक्त रकम रोयल ब्रोम्प्टन एण्ड हारेफिल्ड अस्पताललाई सहयोग गर्ने बताएका थिए ।
अस्पतालले कोरोनाविरुद्ध लड्न जीवन बचाउने अत्यावश्क सामाग्री किन्न सहयोगको अपिल गरेको थियो ।
बट्लरको उक्त जर्सीलाई ८२ जनाले बोली लगाएका थिए । अन्त्यमा उनको जर्सी सर्वाधिक ६५ हजार १ सय पाउण्डमा बिक्री भएको थियो ।
इंग्ल्यान्डमा ५५ हजार बढीमा कोरोनाको संक्रमित रहेका छन् भने ६ हजार भन्दा बढीको मृत्यु भईसकेको छ ।