एजेन्सी । क्रिकेट एक खतरनाक खेल हो । अझ फास्ट बलरको बल खेल्नु खेलाडीको लागि चुनौतिको विषय हो । क्रिकेटमा आजसम्म थुप्रै खेलाडी तथा मैदानमा खटिएका अम्पाएर घाइते भएका छन् । कतिपयको त मृत्यु नै भएको छ ।
खेलाडीले बलले लाग्ने सक्ने सम्भावित चोट कम गर्न विभिन्न किसिमको सुरक्षा कवज लगाउने गर्छन् । जस्तै प्याड, हेल्मेट, एब्डोमिन गार्ड, ग्लोब्स आदि ।
तर, कहिले काँही यो सबै रक्षाकवचलाई छलेर बलले लाग्दा ठुलो दुर्घटना हुने गर्छ ।
क्रिकेटमा प्रयोग हुने सबै रक्षाकवचको प्रयोग रोचक छ । यस्तैमा आज हामी क्रिकेटमा हेल्मेटको प्रयोग कसरी सुरु भयो र कसले सुरु गरे भनेर चर्चा गर्ने छौं ।
क्रिकेटमा फास्ट बलरको डर सधैं चर्चाको विषय बनेको छ । यसको बारेमा इंग्ल्यान्डका ब्याट्सम्यान डेनिस एमिसलाई विशेष रुपमा लिने गरिन्छ ।
४३ वर्ष पहिले डेनिसले पहिलो पटक हेल्मेट लगाएर क्रिकेट खेलेका थिए, त्यो पनि मोटरसाइकलको ।
सन् १९७७ को विश्व सिरिजको पहिलो सिजनमा क्यारेबियन एण्डी रोबर्ट्सको खतरनाक बाउन्सर बलमा अष्ट्रेलियाका डेविड हुक्सको बंगारा भाँचियो ।
त्यसपछि डेनिस एमिसले सिरिजमा आफ्नो टाउको बचाउन हेल्मेट लगाएर मैदान प्रवेश गरेका थिए । त्यसअघि क्रिकेटमा हेल्मेटको प्रयोग भएको थिएन ।
१३ वर्षअघि डेनिसले एक अन्तर्वार्तामा उक्त हेल्मेटले आफ्नो कान सम्म ढाक्ने बताएका थिए ।
'पिचमासंगै हुने अर्का ब्याट्सम्यानको बोली सुन्न समेत मुस्किल हुने गर्थ्यो, जसले रन आउट हुने खतरा बढ्थ्यो । फाइबर ग्लासले बनेको त्यो गरुङ्गो हेल्मेटले टाउकोमा धेरै पसिना निकाल्ने गर्थ्यो,' उनले भने ।