काठमाडौं । मलेसियामा अगष्ट अन्तिम साताबाट आयोजना हुने एसिया कप छनोट खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोली एक साता प्रशिक्षणको लागि श्रीलंका पुगेको छ ।
श्रीलंकामा विशेष प्रशिक्षण गर्न नेपाली टोली सोमबार नै कोलम्बो पुगिसकेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसिसिबाट यसै बर्षबाट एकदिवसीय राष्ट्रको मान्यता प्राप्त गरेको नेपाली टोली एसिया कपमा पुग्ने लक्ष्यसहित विशेष प्रशिक्षणको लागि श्रीलंका गएको हो ।
श्रीलंकामा प्रशिक्षणको दौरान नेपालले तीन अभ्यास खेल खेल्नेछ । तीन अभ्यास र प्रशिक्षणपछि नेपाली टोली अगष्ट २७ मा श्रीलंकाबाटै मलेसिया प्रस्थान गर्ने छन् । एसिया कपको छनोटमा नेपालसहित आयोजक मलेसिया, युएई, हङकङ,सिंगापुर र ओमानले खेल्ने छन् ।
प्राय ठुला प्रतियोगिता अघि भारतमा अभ्यास गर्दै आइरहेको नेपालले एसिया कपको लागि भने श्रीलंका रोजेको हो । र, प्रशिक्षणको दौरानले नेपाली टोलीले श्रीलंकाको शीर्ष डिभिजनको लिग खेलिरहेका क्लबसंग अभ्यास खेल खेल्ने छन् ।
भारतमा प्रदेशको स्थानीय क्लबसंग अभ्यास खेल खेल्दै आएको नेपालले श्रीलंकामा भने शीर्ष क्लबहरुसंग अभ्यास खेल खेल्ने मौका पाएको हो । श्रीलंकामा नेपालले श्रीलंका आर्मी स्पोर्ट्स क्लब, ब्लुमफिल्ड क्रिकेट क्लब र कोल्ट्स क्रिकेट क्लबसंग अभ्यास खेल खेल्ने तालिका रहेको छ । नेपालले खेल्ने सबै क्लब श्रीलंकाको फस्ट क्लास क्रिकेट क्लबहरु हुन् ।
नेपालले खेल्ने तीन वटै क्लबले श्रीलंकाको फस्ट क्लास प्रतियोगिता प्रिमियर ट्रफी खेल्ने गर्छन् । तीनै क्लबमा श्रीलंकाको राष्ट्रिय टोलीबाट खेलिरहेका,पुर्व खेलाडी, उमेर समूहका खेलाडीहरुको बाहुल्यता रहेको छ । यस्तोमा नेपालले श्रीलंकाका अनुभवी खेलाडीहरुसंग अभ्यास खेल खेल्ने मौका पाउनेछन् ।
श्रीलंका आर्मी क्लब –
नेपाली क्रिकेट टोलीले पहिलो अभ्यास खेल श्रीलंका आर्मी स्पोर्ट्स क्लबसंग खेल्ने छ । नेपाल र श्रीलंका आर्मीबीचको अभ्यास खेल बुधबार हुनेछ । उक्त खेल श्रीलंका आर्मीको घरेलु मैदान पानागोडामा खेल्नेछ ।
श्रीलंका आर्मी क्लब श्रीलंकाको फस्ट क्लास क्लब हो । आर्मीले सन् २००६ को सिजनबाट फस्ट क्लास लिग प्रिमियर ट्रफी खेल्दै आएको छ । तर, श्रीलंका आर्मीले अहिलेसम्म प्रिमियर ट्रफी जित्न सकेको छैन ।
यस टिममा श्रीलंकाबाट टेष्ट, एकदिवसीय र टी-ट्वान्टी खेलिसकेका खेलाडीको बाहुल्यता रहेको छ । यस टिमको कप्तान श्रीलंकाबाट थुप्रै टेष्ट, एकदिवसीय र टी-ट्वान्टी खेलिसकेका अलराउन्डर सिकुगे प्रसन्ना रहेका छन् ।
त्यस्तै यस टिममा अर्का श्रीलंकन अलराउन्डर असेला गुणारत्ने समेत रहेका छन् । गुणारत्नेले यो सिजन मुम्बई इण्डियन्सबाट आईपीएल क्रिकेट खेलेका थिए ।
यस टिममा श्रीलंकाका लेग स्पिनर अजन्था मेन्डिस पनि रहेका छन् । मेन्डिस श्रीलंकाबाट टी-ट्वान्टी क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा दोस्रो स्थानमा रहेका छन् । मेन्डिसभन्दा अघि लासिथ मालिङ्गा रहेका छन् । त्यसबाहेक यो टोलीमा श्रीलंकाको उमेर समूहमा उत्कृष्ट प्रदर्शन गरिरहेका खेलाडीहरु समेत रहेका छन् ।
ब्लुमफिल्ड क्रिकेट क्लब –
नेपालले ब्लुमफिल्ड क्रिकेट क्लबसंग अगष्ट २४ (शुक्रबार) उसैको मैदानमा अभ्यास खेल खेल्नेछ । कोलम्बोमा रहेको ब्लुमफिल्ड क्लब श्रीलंकाको पुरानो क्रिकेट क्लब हो ।
सन् १८९२ मा स्थापना भएको यस क्लबले श्रीलंकाको फस्ट क्लास लिग प्रिमियर ट्रफी ८ पटक जितिसकेको छ । श्रीलंकाका लिजेण्ड सनथ जयसूर्या जस्ता खेलाडीले खेलिसकेको यो क्लबले सन् २०१० को सिजन प्रिमियर ट्रफी जितेको थियो ।
यस क्लब अहिले निपुन करुणानायकेको कप्तानीमा रहेको छ । यस क्लबमा हाल उमेर समूहमा उच्च प्रदर्शन गरेका खेलाडीको बाहुल्यता रहेको छ । युवा खेलाडीको बाहुल्यता रहे पनि यस क्लबका अधिकांस खेलाडीले लिस्ट ए क्रिकेट खेलिसकेका छन् ।
यस क्लबलाई श्रीलंकामा रहेका क्रिकेट क्लबमध्ये एक चर्चित र ठुला क्लब हो ।
कोल्ट्स क्रिकेट क्लब –
नेपालले अन्तिम अभ्यास खेलमा श्रीलंकाको पुरानो क्लब मध्येको एक कोल्ट्स क्रिकेट क्लबसंग खेल्नेछ । सन् १८७१ मा स्थापना भएको कोल्ट्ससंग नेपालले उसैको मैदानमा अगष्ट २६ मा अभ्यास खेल खेल्नेछ ।
यस क्लब श्रीलंकाको उत्कृष्ट क्लबमध्ये एक क्लब हो । यो क्लबले श्रीलंकाको फस्ट क्लास लिग प्रिमियर ट्रफी ६ पटक जितिसकेको छ ।
हाल क्लबको कप्तानी श्रीलंकाका टेष्ट क्रिकेटर दिलरुवान परेराले गरिरहेका छन् । श्रीलंकाका अलराउन्डर परेरासंगै अकिला धनन्जय, कुशल परेरा जस्ता चर्चित श्रीलंकन क्रिकेटर यस क्लबबाट खेल्ने गर्छन् । यि तीनै खेलाडी अहिलेको श्रीलंका टिमका मुख्य खेलाडी हुन् ।
यस्तै यो क्लबमा श्रीलंकाबाट यू-१९ क्रिकेट खेलिसकेका खेलाडीको बाहुल्यता रहेको छ । श्रीलंकाका लिजेण्ड क्रिकेटर चामिन्दा भासले यसै क्लबबाट घरेलु लिग खेल्ने गर्थे ।