काठमाडौं । नेपालले एक दिवसीय मान्यता पाएपछि नेदरल्यान्ड्ससंग दुई म्याचको पहिलो एक दिवसीय श्रृखंला खेल्यो । सोही भ्रमणमा नेपालले पहिलो अन्तराष्ट्रिय एक दिवसीय जित समेत निकाल्यो । पहिलो खेलमा ५५ रनले पराजित नेपाल दोस्रो खेलमा १ रनले बिजयी बन्यो ।
नेदरल्यान्ड्स भ्रमणपछि नेपालल अहिले एसिया कपको छनोटको तयारीमा छ । नेपालको सपना अब एसिया कप भएको छ । क्रिकेटका महारथी इन्डिया, पाकिस्तान समावेश हुने प्रतियोगितामा नेपाल समेत आफुलाई उभ्याउन चाहन्छ । त्यहा पुग्न नेपाललाई सजिलो भने छैन । नेपालले छनोट चरणबाट गुज्रिनुपर्नेछ ।
जहाँ बलिया प्रतिद्धन्दी नेपाललाई चुनौती दिन तम्तयार भएर बसेका छन् । प्रतियोगिता आगामी भदौ ११ देखि २२ सम्म मलेसियामा हुदैछ । सोही छनोट प्रतियोगिताको तयारी स्वरुप नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले श्रीलंकामा छ ।
श्रीलंका उड्नु अघि राष्ट्रिय टोलीका कप्तान पारस खड्काले छनोट खेलमा निकै राम्रा राष्ट्रहरु सहभागी हुने भएकाले प्रतियोगिता निकै कठिन हुने बताए । तर नेपाली टोलीले समेत त्यही अनुसारको प्रर्दशन गरेर आफुलाई प्रमाणित गर्ने उनले विश्वास ब्यक्त गरे ।
कप्तानको आखाँमा एक दिवसीय मान्यता पाएको नेपाली टोली बिगत जस्तो कमजोर छैन । त्यसको नतिजा मलेसियामा हुने छनोट खेलमा देखिने उनको दाबी छ ।
मुख्य प्रशिक्षक जगत टमाटा नेपाली टिमलाई उत्कृष्ट प्रर्दशन गरेर इतिहास रच्न अवसर रहेको स्विकार्छन् । प्राप्त अवसरलाई सदुपयोग गर्न कडा रुपमा प्रस्तुत भएर नेपाली टिम मैदान छिर्ने उनको भनाई छ ।
ब्याटिङ सदैव नेपाली टिमको मुख्य समस्या हो । तर प्रशिक्षक टमाटा यसलाई मान्दैनन् ।
‘एक दिवशिय मान्यता पाएको राष्ट्रको कुन पक्ष कमजोर र कुन पक्ष बलियो भनेर दाज्नु भन्दा सबै पक्षलाई बलियो बनाएर एसिया कप छनोट प्रतियोगितामा ६ टिम मध्य उत्कृष्ट बन्ने लक्ष्यकासाथ अगाडी बढ्न पर्छ ।’ उनी भन्छन् ।
प्रतियोगितामा युएई, हङकङ, नेपाल, सिंगापुर, मलेसिया र ओमानबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेता टिम एसिया कपका लागि छनोट हुनेछ ।