धनगढी । प्रदेश नम्बर ७ को सरकारले फाप्ला अन्तराष्ट्रिय क्रिकेट रंगशालाको लागि ५ करोड बजेट विनियोजन गरेको छ । प्रदेश सभामा सरकारले आज प्रस्तुत गरेको नयाँ आर्थिक बर्षको बजेट अनुसार फाप्ला अन्तराष्ट्रिय क्रिकेट रंगशालाको विकास तथा विस्तारका लागि सो रकम विनियोजना गरिएको हो ।
‘ड्रिम फाप्ला’ अभियान चलाउदै आएका धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले प्रदेश सरकारको बजेटले फाप्ला अन्तराष्ट्रिय रंगशाला निर्माणको बिषयलाई सम्बोधन गरेको बताएका छन् । खेलपाटीसंग कुरा गर्दै अध्यक्ष शाहीले आफुहरुको लबिङले सार्थकता पाएको बताउदै प्रदेश सरकारको पहिलो बजेटमा रकम विनियोजन हुनु सुखद बिषय भएको बताए ।
‘पब्लिक, प्राईभेट सेक्टर मोडेलमा गएर निर्माण सुरु गरेको खण्डमा यसको निर्माण मात्र नभएर सञ्चालन समेत सहज हुन्छ भन्ने हाम्रो बुझाई हो ।’ उनले भने, ‘कस्तो मोडेलमा निर्माण थाल्ने भन्ने बिषय चाँडै टुङ्गिनेछ ।’
अध्यक्ष शाही सहितका युवाहरुको पहलमा तीन बर्ष अगाडी ड्रिम फाप्ला अन्तराष्ट्रिय रंगशाला निर्माणको अभियान सुरु भएको थियो । धनगढीलाई क्रिकेटको शहरका रुपमा चिनाउने लक्ष्यको सहित सुरु गरिएको अभियानका लागि झण्डै २ सय करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।