काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने एसिया कप छनोट अघिको श्रीलंकामा हुने अभ्यास खेलमा सहभागी नहुने भएका छन् । क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा व्यस्त रहेका कारण सन्दीप श्रीलंका नआउने भएका हुन् ।
मलेसियामा अगष्ट अन्तिम साताबाट आयोजना हुने एसिया कप छनोटको लागि नेपाली क्रिकेट टोलीले श्रीलंकामा एकसाता प्रशिक्षण र तीन अभ्यास खेल खेल्दैछ । अभ्यास खेलको लागि नेपाली टोली सोमबार नै श्रीलंका प्रस्थान गरिसकेको छ ।
तर, सन्दीप भने वेष्ट इण्डिजबाट सिधै मलेसिया आउने भएका छन् । नेपाली टोलीको टिम म्यानेजर रमण सिवाकोटीका अनुसार सन्दीप अगष्ट २८ मा मलेसिया आइपुग्ने छन् । एसिया कप छनोट अगष्ट २९ बाट सुरु हुनेछ । छनोटमा नेपालसहित आयोजक मलेसिया, युएई, हङकङ,सिंगापुर र ओमानले खेल्ने छन् ।
मलेसिया आउनुअघि सन्दीपले क्यारेबियन लिगको दुई खेल खेल्ने छन् । सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबाट खेलिरहेका सन्दीपले लिग चरणको अन्तिम खेल भने गुमाउनेछन् ।
सन्दीपको टिम प्याट्रियट्सले बुधब्र चौथो खेल खेल्दैछ । सीपीएल क्रिकेटमा सन्दीपको सहिलेसम्म पाँच विकेट लिईसकेका छन् ।
सीपीएलको लागि सन्दीप ऐतिहासिक एकदिवसीय सिरिज खेलेर नेदरल्याण्डबाटै वेष्ट इण्डिज गएका थिए । सन्दीपलाई प्याट्रियट्सले ६ महिना अघि लन्डनमा भएको अक्सनबाट ५ हजार डलरमा खरिद गरेको थियो ।
इन्डियन प्रिमियर लिगमा (आईपीएल) दिल्ली डेयरडेभिल्सबाट सनसनीपूर्ण डेब्यु गर्दै ३ खेलमा ५ विकेट लिएका सन्दीपले अघिल्लो महिना ग्लोबल टी २० क्यानाडा लिगमा मोन्ट्रियल टाइगर्सबाट ६ खेलमा ८ विकेट लिएका थिए ।