काठमाडौं । मलेसियामा अगष्ट अन्तिम साताबाट आयोजना हुने एसिया कप छनोट खेल्ने नेपाली राष्ट्रिय टोली श्रीलंका प्रस्थान गरेको छ । श्रीलंकामा एक साताको विशेष प्रशिक्षण गर्न नेपाली टोली सोमबार श्रीलंका गएको हो ।
श्रीलंका जाने नेपाली टोलीलाई सोमबार सभामुख कृष्णबहादुर महराले विदाई गरे । नेपाली टोलीको विदाई गर्दै महराले नेपाली क्रिकेट विकासको लागि राज्य बलियो भएर लाग्ने बताए । यस्तै श्रीलंका जानुअघि कप्तान पारस खड्काले छनोट निकै कठिन भएपनि टोलीले उत्कृष्ट प्रदर्शन गर्दै एसिया कप खेल्ने योजना रहेको बताए ।
एक साता श्रीलंका रहने नेपाली टोलीले तीन अभ्यास खेल खेल्ने छ । नेपाली टोलीले स्थानीय तीन क्लबसंग अभ्यास खेल्ने कार्यक्रम छ ।
नेपालले पहिलो अभ्यास खेल अगष्ट २२ (बुधबार) मा आर्मी क्रिकेट टिमसंग पानागोडामा खेल्ने छ ।
त्यस्तै नेपालले अगष्ट २४ मा ब्लुमफिल्ड क्लबसंग उसैको मैदानमा दोस्रो अभ्यास खेल खेल्नेछन् । नेपालले अन्तिम अभ्यास खेलमा कोल्ट्ससंग उसैको मैदानमा खेल्ने छन् ।
तीन अभ्यास र प्रशिक्षणपछि नेपाली टोली अगष्ट २७ मा श्रीलंकाबाटै मलेसिया प्रस्थान गर्ने छन् ।
एसिया कपको लागि नेपालले शनिबार १५ सदसीय नेपाली टोलीको घोषणा गरिसकेको छ । नेपाली टोलीमा विनोद भण्डारी र सागर पुनले पुनरागमन गरेका छन् ।
एसिया कपको छनोटमा नेपालसहित आयोजक मलेसिया, युएई, हङकङ,सिंगापुर र ओमानले खेल्ने छन् । छनोटको पहिलो खेलमा नेपालले ओमानसंग खेल्नेछ । नेपाल र ओमानबीचको खेल अगष्ट २९ मा बायुमास ओभलमा हुनेछ ।
यस्तै नेपालले दोस्रो खेलमा युएईको सामना गर्ने छ । नेपाल र युएईबीचको खेल अगष्ट ३० मा किनरारा ओभलमा हुनेछ । नेपालले तेस्रो खेलमा आयोजक मलेसियासंग सेप्टेम्बर १ मा खेल्ने छ । त्यस्तै सेप्टेम्बर २ मा सिंगापुरसंग खेल्ने नेपालले सेप्टम्बर ४ मा हङकङसंग खेल्ने छ ।
राउण्ड रोबिनको आधारमा हुने छनोटको शीर्ष दुई टोलीले फाइनलमा खेल्ने छन् । छनोटको बिजेताले युएईमा हुने एसिया कपमा सहभागिता जनाउने छन् ।
एकदिवसीय फर्म्याटको एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान जस्ता टेष्ट राष्ट्रको सहभागिता रहने छ । र, एसोसियट राष्ट्रबाट एक टोलीले एसिया कपमा टिकट काट्ने छन् ।
छनोटको बिजेता सेम्टेम्बर १३ देखि २८ तारिखसम्म हुने एसिया कपको समूह ए मा पर्नेछ । उक्त समूहमा भारत र पाकिस्तान रहेको छ ।
नेपाली टोली : कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, अनिल कुमार साह, बिनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, करण केसी, ललित भण्डारी, ललित नारायण राजवंशी, आरिफ शेख, रोहित कुमार पौडेल, सागर पुन, सन्दीप लामिछाने, सोमपाल कामी, सुवास खकुरेल
वैकल्पिक खेलाडी : प्रदीप ऐरी, किशोर महतो,सुनील धमला, सुसन भारी