काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टोलीको नयाँ प्रशिक्षक नियुक्तिको लागि गृहकार्य सुरु गरेको छ ।
अध्यागमन विभागले नेपाली टोलीका मुख्य प्रशिक्षक ग्यातुकी कोजीलाई नेपाल प्रवेशमा रोक लागाएपछि एन्फाले नयाँ प्रशिक्षक चयनको लागि गृहकार्य सुरु गरेको हो ।
पर्यटक भिषामा नेपालमा बस्दै आएको र श्रम स्वीकृति बिना नेपालमा काम गर्दै आएपछि अध्यागमन विभागले गत महिना प्रशिक्षक कोजीलाई सन् २०१८ सम्म नेपाल प्रवेशमा रोक लगाएको थियो ।
एन्फाका प्रवक्ता किरण राईले मुख्य प्रशिक्षक कोजी नेपाल आउन सम्भव नभएको कारण उनको स्थानमा कसलाई ल्याउने भन्नेबारे छलफल सुरु भएको खेलपाटीलाई जानकारी गराए ।
प्रवक्ता राईले खेलपाटीलाई भने, 'कोजीलाई सरकारले नेपाल प्रवेशमा रोक लगाएको छ । कुनैपनि हालतमा कोजी नेपाल आउने सम्भावना छैन, अब के गर्ने भन्ने बिषयमा छलफल गरिरहेका छौं ।'
प्रशिक्षक कोजी नेपाली टोलीसंग एसियन गेम्सको लागि हाल इन्डोनेसियामा रहेका छन् । एसियन गेम्समा नेपाल समूह चरणको तीनै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ । एसियन गेम्सको खराब प्रदर्शनसंगै प्रशिक्षक कोजीलाई राजीनाको लागि दबाब समेत बढेको छ ।
अब प्रशिक्षक कोजी त्यहीबाट जापान जानेछन् । प्रशिक्षक कोजीको करार अवधि आगामी नोभेम्वरसम्म रहेको छ । त्यसअघि नेपालले यसै महिना बंगलादेशमा हुने साफ च्याम्पियनसिप खेल्दैछ । यसअघि एन्फाले बंगलादेशमा हुने साफ च्याम्पियनसिपसम्मको लागि कोजीलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।
प्रशिक्षक कोजीलाई नेपाल प्रवेशमा रोक लागेपछि साफमा नेपाली टोलीको नेतृत्व कसलाई दिने भन्नेबारे एन्फाले केहि निर्णय गर्न सकेको छैन । तर, एन्फाले कोजीलाई जापानबाट सिधै बंगलादेश झिकाउने वा उनलाई बर्खास्त गर्ने भन्नेबारे मंगलबारभित्रमा निर्णय हुने बताएको छ ।
'प्रशिक्षक कोजीको करार अवधि, उनको स्थानमा साफ गेम्स कसले हेर्ने र कसलाई ल्याउने भन्ने विषयमा छलफल जारी छ । आज वा भोली टुंगो लाग्ने छ,' एन्फा प्रवक्ता राईले खेलपाटीलाई भने ।
नयाँ प्रशिक्षक नियुक्त नभएसम्म नेपाली टोली सहायक प्रशिक्षक बालगोपाल महर्जनले हेर्ने छन् ।
समूह ‘ए’ मा रहेको नेपालले सेप्टेम्बर ४ मा पाकिस्तानविरुद्ध खेल्दै साफको सुरुवात गर्नेछ । नेपालले दोस्रो खेलमा भुटानसंग सेप्टेम्बर ६ मा खेल्नेछ । यस्तै नेपालले अन्तिम खेलमा आयोजक बंगलादेशसंग सेप्टेम्बर ८ खेल्नेछ ।
सेप्टेम्बर १५ सम्म हुने च्याम्पियनसिपको समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
समूह 'बी' मा साबिकको बिजेता भारत, श्रीलंका र माल्दिभ्स रहेका छन् ।