एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा साबिकको बिजेता म्यानचेस्टर सिटीले लगातार दोस्रो जित निकालेको छ ।
प्रिमियर लिगको नयाँ सिजनमा लगातार दोस्रो जित निकाल्ने क्रममा सिटीले आइतबार हडर्सफिल्ड टाउनलाई ६ - १ गोलको फराकिलो अन्तरले हराएको हो ।
घरेलु मैदानमा सिटीले हडर्सफिल्डलाई आधा दर्जन गोल हानेको हो । सिटीको फराकिलो जितमा सर्जियो अग्युरोले ह्याट्रिक पुरा गरे ।
यस्तै ग्राबियल जिसस र डेभिड सिल्भाले एक एक गोल गरे । सिटीले एक गोल आत्मघाती उपहार पाएको थियो । हडर्सफिल्डका टेरेन्स कोन्गोलोले आत्मघाती गोल गर्दा जोन स्टानकोभिचले एक गोल फर्काए ।
इतिहाद स्टेडियममा सिटीले पहिलो हाफको २५ औं मिनेटमा अग्युरोको गोलबाट गोलको खाता खोलेको थियो । खेलको ३१ औं मिनेटमा जिससले सिटीको अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ३५ औं मिनेटमा अग्युरोले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता तेब्बर बनाए । खेलको ४३ औं मिनेटमा हडर्सफिल्डका स्टानकोभिचले एक गोल फर्काएपछि सिटी पहिलो हाफमा ३ - १ ले अघि रह्यो ।
दोस्रो हाफमा सिटीले थप तीन गोल गर्यो । ४८ औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीको अग्रता ४ - १ को बनाए । खेलको ७५ औं मिनेटमा अग्युरोले गोल गर्दै ह्याट्रिक पुरा गर्दा सिटी का ५ - १ को फराकिलो स्थितिमा पुग्यो । त्यसपछि खेलको ८४ औं मिनेटमा कोन्गोलोले आत्मघाती गोल गरेपछि सिटीले ६ - १ को फराकिलो जित निकाल्यो ।
जितसंगै सिटी २ खेलबाट ६ अंक जोडेर लिगको शीर्ष स्थानमा रहेको छ । सिटीले पहिलो खेलमा आर्सनललाई २ - ० ले हराएको थियो । हडर्सफिल्डको यो लगातार दोस्रो हार हो ।
प्रिमियर लिग अन्तर्गत नै आइतबार वाट्फोर्डले बर्नलीलाई ३ - १ ले हराएको छ । वाट्फोर्डको जितमा आन्द्रे ग्रे, ट्रोय डीने र विल हुघेसले एक एक गोल गरे । बर्नलीका जेम्स तार्कोवास्कीले एक गोल फर्काए ।
लिगको वाट्फोर्डको पनि यो लगातार दोस्रो जित हो । बर्नलीको पहिलो हार हो । लिगमा वाट्फोर्डले ६ अंक जोडेको छ भने बर्नलीले १ अंक जोडेको छ ।