काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर बसन्त रेग्मी र ब्याट्सम्यान शरद भेषावकर नेपाल बंगलादेश बैंकको सद्भावना दुत (ब्राण्ड एम्बेसडर) नियुक्त भएका छन् ।
नेपाल बंगलादेश बैंकको आइतबार एक कार्यक्रमकाबीच बसन्त र शरदलाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको हो । बैंकले दुई बर्षको लागि बसन्त र शरदलाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले बसन्त र शरदसंग सम्झौता पत्रमा हस्ताक्षर गरे । ब्राण्ड एम्बेसडरबापत पाउने रकम भने खुलाईएको छैन । ब्राण्ड एम्बेसडर बनेसंगै दुवै खेलाडीले बैंकले गर्ने बिभिन्न कार्यक्रमहरुमा सहभागिता जनाउनु पर्नेछ ।
बैंकको ब्राण्ड एम्बेसडर बनेपछि बोल्दै शरदले खेलकुद क्षेत्रमा राज्यले लगानी गर्न नसकिरहेको अवस्थामा बैंकले खेलाडीलाई लगानी गर्नु खुसीको कुरा रहेको र आगामी दिनमा क्रिकेटमा मात्र नभई अन्य खेलमा पनि लगानी गर्दा उत्तम हुने बताए ।
यस्तै बसन्तले खेलाडीको हौशला बढाउने कार्य गरेकोमा बैंकलाई धन्यवाद दिदै यस्ता कार्यले नयाँ पुस्ताका खेलाडीमा उर्जा थपिने बताए ।
त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगानाले बसन्त र शरदसंग मिलेर विभिन्न बिद्यालयमा कार्यक्रम गर्ने र सामान्य क्रिकेट खेलको बारेमा जानकारी गराउने बताए ।
'अहिले हामीले धरै नसोचे पनि भबिष्यमा राम्रो क्रिकेट खेलाडी बन्न चाहने खेलाडीलाई सहि दिशानिर्देश गर्ने प्रयास गर्ने छौ,' ढुंगानाले भने ।