काठमाडौं । मलेसियामा अगष्ट अन्तिम साताबाट आयोजना हुने एसिया कप छनोट अघि नेपालले श्रीलंकामा तीन अभ्यास खेल खेल्ने भएको छ ।
एक साता श्रीलंका रहने नेपाली टोलीले तीन अभ्यास खेल खेल्ने पक्का भएको हो । नेपाली टोलीले स्थानीय तीन क्लबसंग अभ्यास खेल्ने छन् ।
एसिया कप छनोटको अभ्यासको लागि नेपाली टोली अगष्ट २० मा श्रीलंका जाने कार्यक्रम रहेको छ । नेपालले पहिलो अभ्यास खेल अगष्ट २२ (बुधबार) मा आर्मी क्रिकेट टिमसंग पानागोडामा खेल्ने छ ।
त्यस्तै नेपालले अगष्ट २४ मा ब्लुमफिल्ड क्लबसंग उसैको मैदानमा दोस्रो अभ्यास खेल खेल्नेछन् । नेपालले अन्तिम अभ्यास खेलमा कोल्ट्ससंग उसैको मैदानमा खेल्ने छन् ।
तीन अभ्यास र प्रशिक्षणपछि नेपाली टोली अगष्ट २७ मा श्रीलंकाबाटै मलेसिया प्रस्थान गर्ने छन् ।
एसिया कपको लागि नेपालले शनिबार १५ सदसीय नेपाली टोलीको घोषणा गरिसकेको छ । नेपाली टोलीमा विनोद भण्डारी र सागर पुनले पुनरागमन गरेका छन् ।
एसिया कपको छनोटमा नेपालसहित आयोजक मलेसिया, युएई, हङकङ,सिंगापुर र ओमानले खेल्ने छन् । राउण्ड रोबिनको आधारमा हुने छनोटको शीर्ष दुई टोलीले फाइनलमा खेल्ने छन् । छनोटको बिजेताले युएईमा हुने एसिया कपमा सहभागिता जनाउने छन् ।
एकदिवसीय फर्म्याटको एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान जस्ता टेष्ट राष्ट्रको सहभागिता रहने छ । र, एसोसियट राष्ट्रबाट एक टोलीले एसिया कपमा टिकट काट्ने छन् ।
छनोटको बिजेता सेम्टेम्बर १३ देखि २८ तारिखसम्म हुने एसिया कपको समूह ए मा पर्नेछ । उक्त समूहमा भारत र पाकिस्तान रहेको छ ।