काठमाडौं । एसीसी इस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेट अन्तर्गत नेपाल र सिंगापुरबीचको खेल रद्द भएको छ ।
बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा वर्षाको कारण नेपाल र सिंगापुरबीचको खेल रद्द भएको हो ।
बिहिबार राति परेको वर्षाले मैदान खेल्न योग्य नहुँदा नेपाल र सिंगापुरबीचको खेल टस समेत नभई रद्द गरिएको हो ।
खेल रद्द भएसँगै दुवै टोलीले १-१ अंक पाएका छन् ।
सिंगापुरसँग एक अंक पाएसँगै नेपालले ४ खेलमा ३ अंक जोडेर प्रतियोगिताको अन्त्य गरेको छ । एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको नेपाल चौंथो स्थानमा रह्यो ।
एसिया कप छनोटमा पुग्ने लक्ष्य सहित थाइल्याण्ड पुगेको नेपाल थाइल्याण्डमाथि जित निकाल्दा मलेसिया र हङकङसँग पराजित भएको थियो ।
सिंगापुर भने शीर्ष दुई पक्का गर्दै एसिया कप छनोटमा पुगेको छ । ४ खेलमा ३ जितका साथ सिंगापुरले ७ अंक जोड्यो ।
सिंगापुरले शीर्ष स्थानमा रहदै उपाधि समेत जितेको छ ।