काठमाडौं । मलेसियामा अगष्ट अन्तिम साताबाट आयोजना हुने एसिया कपको छनोटको लागि नेपाली टोलीको घोषणा भएको छ ।
नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्काको छनोट समितिले शनिबार १५ सदसीय नेपाली टोलीको घोषणा गरेको हो । बन्द प्रशिक्षणमा आएका १९ खेलाडीबाट नेपालले १५ सदसीय टोलीको घोषणा भएको हो ।
नेपाली टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, अनिल कुमार साह, बिनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, करण केसी, ललित भण्डारी, ललित नारायण राजवंशी, आरिफ शेख र रोहित कुमार पौडेल रहेका छन् । यस्तै सागर पुन, सन्दीप लामिछाने, सोमपाल कामी र सुवास खकुरेल रहेका छन् ।
नेपाली टोलीमा विनोद भण्डारी र सागर पुनले पुनरागमन गरेका हुन् । नेदरल्याण्ड र लर्ड्स भ्रमणमा दुवै खेलाडी परेका थिएनन् ।
वैकल्पिक खेलाडीमा प्रदीप ऐरी, किशोर महतो,सुनील धमला र सुसन भारी रहेका छन् ।
एसिया कपको छनोटमा नेपालसहित आयोजक मलेसिया, युएई, हङकङ,सिंगापुर र ओमानले खेल्ने छन् । छनोटको पहिलो खेलमा नेपालले ओमानसंग खेल्नेछ । नेपाल र ओमानबीचको खेल अगष्ट २९ मा बायुमास ओभलमा हुनेछ ।
यस्तै नेपालले दोस्रो खेलमा युएईको सामना गर्ने छ । नेपाल र युएईबीचको खेल अगष्ट ३० मा किनरारा ओभलमा हुनेछ । नेपालले तेस्रो खेलमा आयोजक मलेसियासंग सेप्टेम्बर १ मा खेल्ने छ । त्यस्तै सेप्टेम्बर २ मा सिंगापुरसंग खेल्ने नेपालले सेप्टम्बर ४ मा हङकङसंग खेल्ने छ ।
राउण्ड रोबिनको आधारमा हुने छनोटको शीर्ष दुई टोलीले फाइनलमा खेल्ने छन् । छनोटको बिजेताले युएईमा हुने एसिया कपमा सहभागिता जनाउने छन् ।
एकदिवसीय फर्म्याटको एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान जस्ता टेष्ट राष्ट्रको सहभागिता रहने छ । र, एसोसियट राष्ट्रबाट एक टोलीले एसिया कपमा टिकट काट्ने छन् ।
छनोटको बिजेता सेम्टेम्बर १३ देखि २८ तारिखसम्म हुने एसिया कपको समूह ए मा पर्नेछ । उक्त समूहमा भारत र पाकिस्तान रहेको छ ।