एजेन्सी । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले खेल्ने इटालियन सिरी ए फुटबलको नयाँ सिजन आजबाट (शनिबार) सुरु हुँदैछ ।
सिरी ए फुटबलको नयाँ सिजनको उद्घाटन खेलमा साबिकको बिजेता युभेन्ट्स र किएभो भेरोनाले प्रतिस्पर्धा गर्दै छन् । भेरोनाको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति ९:४५ मा सुरु हुनेछ ।
घरेलु टोलीविरुद्ध मैदान उत्रदा युभेन्ट्स आफ्नो साख जोगाउने लक्ष्यसहित मैदान उत्रनेछन् । यस्तै रोनाल्डोको साथ पाएको युभेन्ट्स सिरी ए लिगमा आफ्नो हैकम कायम राख्न चाहन्छ । यता, तुलनात्मक कमजोर टोली भेरोना सिजनको पहिलो खेलमा ठुला क्लबलाई हराउने योजनामा हुनेछन् ।
अघिल्ला सिजनको तुलनामा यो सिजनको सिरी ए लिग निकै चर्चाको बिषय बनेको छ । अहिलेको पुस्ताको सर्वाधिक चर्चित स्टार खेलाडी रोनाल्डो इटालियन सिरी ए लिगमा अनुबन्ध भएसंगै इटालियन लिग चर्चामा पुगेको हो । युभेन्ट्सले यसै सिजन स्पेनिस क्लब रियल मड्रिडबाट रोनाल्डोलाई क्लबमा भित्राएको हो ।
किएभो भेरोनाविरुद्धको खेलसंगै रोनाल्डोले पनि सिरी ए फुटबलमा डेब्यु गर्नेछन् । सम्भवत रोनाल्डो पहिलो रोजाईमा पर्न सक्ने बताईएको छ । रोनाल्डो कै कारण चर्चाको शिखरमा पुगेको सिरी ए फुटबलमा पनि रोनाल्डोले आफ्नो प्रभाव कायम राख्ने सक्ने अनुमान गरिएको छ ।
स्पेनिस क्लब रियलमा गोल मेसिनको रुपमा रहेका रोनाल्डोले अभ्यास खेलमा समेत दुई गोल गरिसकेका छन् । त्यसैले डेब्यु खेलमा रोनाल्डोलाई भेरोनाका डिफेन्स र गोलकिपरलाई निकै गार्हो पर्ने देखिन्छ । सिजन अघिको विश्वकपमा पनि रोनाल्डोले ह्याट्रिकसहित केहि उत्कृष्ट गोल गरेका थिए ।
यस्तै लिग अन्तर्गत आज मध्य राति हुने खेलमा नेपोलीले लाजियोसंग खेल्दैछ । त्यस्तै आइतबार रोमाले टोरीनोसंग खेल्दै सिजनको सुरुवात गर्दैछ ।